नदीजन्य पदार्थ निकासी गर्न नक्कली रसीद प्रयोग

0

प्रस, निजगढ, १६ मङ्सिर/
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका खोलाहरूबाट नदीजन्य पदार्थ निकासी गर्न निकासीकर्ताहरूले नक्कली बिल प्रयोग गरिरहेको खुलासा भएको छ। दुधौरा, बालगङ्गा, पसाहा खोलामा नक्कली रसीद प्रयोग गरी नदीजन्य पदार्थको निकासी कर काटेको सूचना पाएपछि बारा प्रहरी सक्रिय भएको छ।
जीतपुरसिमरा उपमहानगरको सरकारी छापसमेत नक्कली बनाएर नक्कली रसीद प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेको सूचना पाएपछि जीतपुरसिमरा उपमहानगरले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बारालाई पत्राचार गरेकोले सो सम्बन्धमा कारबाईको लागि प्रहरी प्रशासन सक्रिय भएको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
सोमवार दिउँसो अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको टोलीले बालगङ्गा खोलाबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये एकजनालाई म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
नक्कली रसीद प्रयोग हुँदा उपमहानगरका तीनवटा खोलाबाट एकै दिनमा ५–७ लाख रुपैयाँभन्दा बढी राजस्व चुहावट भएको हुन सक्ने स्थानीयहरूको अनुमान छ। खोलाहरूको उत्खनन अनुमति लिनुअघि विनोद निर्माण सेवाले सो खोलामा नक्कली छाप, रसीद प्रयोग गरी नदीजन्य पदार्थ निकासी गरेको आरोप लागे पनि ठेकेदार कम्पनीले सो आरोप अस्वीकार गर्दै आएको छ।
आपूmहरूलाई बदनाम गर्ने उद्देश्यले कुनै गिरोहले त्यस्ता अवैध काम गरेको हुन सक्ने ठेकेदार कम्पनीका सञ्चालक एवं कलैया उपमहानगर–१६ का अध्यक्ष शेषनाथ साहले प्रतिक्रिया दिए। आफ्नो कर्मचारी नभएको बेला तिहार र छठ पर्वको बिदाको बेला मौका छोप्दै अरू गिरोहले यस्तो काम गर्ने गरेको पाइएको ठेकेदार साहको भनाइ छ।
दुई वर्षअघि पनि निजगढ नपाको ठेक्का लिंदा आपूmहरूलाई यस्तै दुःख दिएको तर त्यस गिरोहको खोजी गरे पनि त्यस बेला फेला पार्न नसकिएको भन्दै साहले त्यस्ता गिरोहलाई कारबाई गरी उजागर गर्न प्रहरी प्रशासनसँग आग्रह गरे।
जीतपुरसिमरा उमनपाको दुधौरा, बालगङ्गा, पसाहा खोलाको ९४ लाख घन फिट नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न रु १२ करोड ७८ लाखमा आपूmले ठेक्का साकार गरेको ठेकेदार शेषनाथ साहले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here