प्रस, सिम्रौनगढ, १६ मङ्सिर/
नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ऐतिहासिक तथा पर्यटकीय शहर सिम्रौनगढका  प्रजातान्त्रिक योद्धा अनुप सहनी गुमाउनुपरेकोमा सिङ्गो देश शोकाकुल भएको बताएका छन्।
प्रजातान्त्रिक आन्दोलनका योद्धा नेकाका ज्येष्ठ राजनीतिज्ञ स्वतन्त्रता सेनानी स्व सहनीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा डा महतले सिम्रौनगढले ऐतिहासिक र पर्यटकीय महत्व राख्नुका साथै प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको भूमि पनि रहेको बताए। भागवत यादव, अनुप सहनी जस्ता योद्धाहरू यसका उदाहरण भएको उनले बताए। नेपालको सन्दर्भमा ऐतिहासिक र पर्यटकीय स्थल सिम्रौनगढलाई बिर्सिन नसकिने उनले बताए।
फरक सन्दर्भमा उनले नेकालाई धेरै शक्तिले हल्लाउन खोजे पनि सफल नभएको बताए। उनले नेकालाई जब–जब हल्लाउन खोजिन्छ, तब–तब यसको जग मजबूत भएको इतिहास रहेको दाबी गरे।
नेका बाराका क्षेत्रीय सभापति एवं सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद उमाकान्त चौधरी, पूर्वसांसद राधेचन्द्र यादव, रामअयोध्याप्रसाद यादव, नेकाका पूर्वसचेतक शोभाकर पराजुली, पूर्वमन्त्री कलावती पासवान, नेका बाराका कोषाध्यक्ष चन्द्रशेखर यादव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, नेकपाका केन्द्रीय सदस्य डा गोपाल ठाकुर, जसपाका महामन्त्री जीतेन्द्र सिंह, केन्द्रीय सदस्य रामबाबू यादव, नेकपा बाराका सदस्य बतहु यादव, सियाराम यादवलगायतले स्व सहनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
सो अवसरमा कार्यक्रमका अध्यक्ष नगरप्रमुख यादवले जेहेन्दार छात्रछात्राहरूका लागि क्षेत्रीय समितिबाट रु १ लाख र आफ्नोतर्फबाट रु १ लाख गरी स्व सहनीको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here