प्रस, महोत्तरी, १६ मङ्सिर/
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातवटै प्रदेशमा सरकारी स्वामित्वको एक/एक वटा मेडिकल कलेज खोलिने बताएको छ। महोत्तरीको बर्दिबास नपा वडा नं ११ मा नवनिर्मित निर्मल लामा बहुप्राविधिक शिक्षालय भवनको मङ्गलवार उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एक/एक वटा मेडिकल कलेज स्थापना गर्ने सङ्घीय सरकारको निर्णय भइसकेको र सोही अनुसार सफलरूपमा कार्यक्रमसमेत अगाडि बढिसकेको जानकारी दिए। उनले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार निर्माण हुने भन्दै यसतर्फ सरकार दीर्घकालीन सोचका साथ अगाडि बढेको बताए।
नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो। २१ कोेठाको अत्याधुनिक प्रविधियुक्त उक्त भवनमा विद्यार्थीहरूलाई प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए। शिक्षालयको ४० कोठे अर्काे भवन भने हाल निर्माणाधीन अवस्थामा छ।
निर्मल लामा बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको तीन वर्ष पूरा भएको छ। तीन वर्षे स्नातक तहको पठनपाठन र विषयगत अभ्यास गराइने सो शिक्षालयमा सिभिल इन्जिनीयरिङ, जोमेट्रिक इन्जिनीयरिङ, वनविज्ञान, पूmड एन्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक र व्यावहारिक अध्ययन हुँदै आएको छ।
यस वर्षको शैक्षिक सत्रदेखि फार्मेसी, रेडियोग्राफी, आयुर्वेद र प्राकृतिक चिकित्सा तथा योग विषयको पठनपाठन हुने बताइएको छ।
फार्मेसी र रेडियोग्राफी अध्ययन शिक्षालयको मूल भवनमा सञ्चालन गरिएको छ भने आयुर्वेद मटिहानीस्थित राजकीय संस्कृत माविमा अध्यापन गराइएको छ।
त्यसैगरी, प्राकृतिक चिकित्सा तथा योग सिराहाको धनगढी नगरपालिकासँगको साझेदारीमा तीनै ठाउँमा सञ्चालनको अनुमति रहेको प्राचार्य मेहताले जानकारी गराए। शिक्षालयमा मुलुकका २२ जिल्लाका ५३८ जना छात्रछात्रा हाल अध्यनरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here