प्रस, सेढवा, ३ भदौ/
    सखुवाप्रसौनी गाउँपालिकाको आइसोलेशनमा बस्ने सङ्क्रमितहरू खुलेआम बजारमा हिंड्डुल गर्ने गरेको समाचार छ। गाउँपालिकाको चरम लापर्बाहीका कारण कोरोना सङ्क्रमितहरू सुखवाप्रसौनीका गाउँ, बजारमा डुल्ने गरेको स्थानीयले गुनासो गरेका छन्।
    सखुवाप्रसौनी गाउँपालिकाको नेपाल राष्ट्रिय मोहन आधारभूत विद्यालयमा सञ्चालित आइसोलेशनमा आठजना कोरोना सङ्क्रमित छन्। सो आइसोलेशनको निगरानी गर्ने कोही नहुँदा सङ्क्रमितहरू बाहिर निस्किने, पसलबाट गुटखा किनेर खाने गरेको स्थानीय पवनकुमार साहले बताए। कोरोना सङ्क्रमितहरू बाहिर आउँदा पंचगावाँमा त्रास फैलिएको साहले बताए। उनले मानवबस्तीनजीक आइसोलेशन बनाउँदा सङ्क्रमण फैलिन सक्ने चिन्ता जाहेर गरे।
    यस सम्बन्धमा गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश रौनियारले आइसोलेशनमा बस्ने सङ्क्रमितहरू बाहिर नगएको बताए। आइसोलेशनमा बस्ने सङ्क्रमितहरूलाई भेट्न आउने परिवारका सदस्य गुटखा खरीद गर्न आएको हुन सक्ने संयोजक रौनियारले स्वीकारेका छन्।
    उनले कार्यपालिकाको बोर्डको निर्णय अनुसार विद्यालयमा आइसोलेशन स्थापना गरिएको बताउँदै आइसोलेशन निगरानीको लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरीलाई खटाउन प्रहरी निरीक्षक दीपक चोरवारलाई मौखिक जानकारी गराएको भएपनि हालसम्म सुरक्षाकर्मी नआएको बताए।
    यसैबीच, आइसोलेशनमा बसेका आठजना सङ्क्रमितलाई रोगप्रतिरोधी क्षमता बढाउने औषधि वितरण गरिएको छ।
    सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाले सङ्क्रमितहरूको रोगप्रतिरोधी क्षमता बढाउन अमला रस, गिलोय रस, च्यवनप्राश, क्याल्सियम ट्याबलेट वितरण गरिएको स्वास्थ्य शाखा संयोजक रौनियारले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here