जुवाडेहरू अझै प्रहरी अनुसन्धानमा

0

प्रस, निजगढ, १४ मङ्सिर/
बाराको जीतपुरसिमरा उपमहा नगरपालिका–२ सिमरास्थित होटल प्याराडाइज इनबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका १० जना छुटेका छैनन्। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको जनाएको छ।
बिहीवार राति जिल्ला प्रहरी कार्यालयको टोलीले छापामारी गर्दा ५ लाख ८२ हजार ५५० रुपैयाँसहित सो खेलमा प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान बरामद भएको जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। “म्याद थप गरी अनुसन्धान गरिरहेका छौं,” प्रनाउ गौतमले भने।
पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरका ६ जना र बारा निजगढ नगरपालिकाका ४ जना छन्। यसरी ठूला होटलहरूमा जुवा खेलाउन सेटिङलगायत आवश्यक तयारी गर्ने समूह निजगढ, सिमरालगायतका स्थानमा वर्षौंदेखि सक्रिय छ। जुवा खेल्ने र खेलाउने नाउँमा बदनाम बन्दै गइरहेको निजगढ नगरपालिकाको भरतगंजसिगौंल र सिमानापारि बारा, रौतहटको सीमानजीकै मकवानपुर चुरे पहाडफेदको बस्ती रजुवामा इलाका प्रहरी कार्यालय निजगढका तत्कालीन प्रहरी निरीक्षक विक्रम लामाले छापा मारी १८ जनाभन्दा बढीलाई नगद र खेलमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिएका थिए। त्यसयता ठूला खेल केही निश्चित होटलहरूमा खेल्ने गरेको स्रोतले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here