प्रस, निजगढ, १२ मङ्सिर/
‘गर्न खोजे के हँुदैन र’ भन्ने कुरालाई प्रमाणित गरिदिएका छन्, निजगढ नपा–४ बागदेव शिखरबस्तीका ४४ वर्षीय हीराबहादुर हुमागाईं र सोही ठाउँका २५ वर्षीय देवराज कुइँकेलले।
खेतीकिसानीका अलावा हीराबहादुरले च्याउ उत्पादन गर्न थालेपछि आम्दानीको स्रोत उकालो लागेको छ। धान, मकै, तोरी, मुसुरोलगायतका खेतीको आम्दानीबाट घरव्यवहारको खर्च टार्दै आइरहेका हीराबहादुरले गत वर्ष निजगढ नगरपालिकाद्वारा दिइएको च्याउ उत्पादनसम्बन्धी तालीम लिएपछि च्याउ उत्पादन शुरू गरेका हुन्।
शुरू गरेकै वर्षबाट च्याउले आम्दानी दिन थालेपछि उनी निकै खुशी छन्। शुरूमा नगरपालिकाले च्याउखेतीका लागि  ५० प्रतिशत रकम अनुदान दिएको थियो। यस वर्ष भने नपाले कुनै अनुदान वा बीउ उपलब्ध नगराएको उनले दुःखेसो पोखे। यस वर्ष उनले सर्लाही पुगेर आफैंले च्याउको बीउ किनेर उत्पादन गरिरहेका छन्। गर्मीयाम सकिएपछि शुरू गरिएको च्याउ उत्पादनबाट यसपालि पनि राम्रो आम्दानी हुने सङ्केत देखिइरहेको उनले बताए। उनले १७० वटा परालको गुन्टामा च्याउ उत्पादन गरिरहेका छन्।
परालको गुन्टामा बीउ राखेको दुईदेखि तीन सातामा उत्पादन दिन शुरू गर्ने हीराबहादुर बताउँछन्। “एउटा गुन्टाबाट तीनपटकसम्म राम्रो उत्पादन लिन सकिन्छ,” उनले भने। प्रतिगुन्टा २ देखि ५ किलोसम्म च्याउ उत्पादन हुने र प्रतिकिलो २ सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए। उनले वर्षौंदेखि गर्दै आइरहेका खेतीकिसानी कार्यलाई पनि निरन्तरता दिइरहेका छन्।
बिहान र बेलुकीको समयलाई सदुपयोग गर्दै च्याउ उत्पादन गरी बिक्री गर्दा ५/६ महीनामा ४५ देखि ६० हजार रुपैयाँसम्म आम्दानी गरेको उनले बताए। घरका अन्य सदस्यले पनि सघाउन सक्ने भएका हुनाले गा–हो नहुने उनको भनाइ छ।
हीराबहादुरका छिमेकी २५ वर्षीय देवराज कुइँकेलले पनि च्याउ उत्पादन शुरू गरेका छन्। आफूलाई च्याउ उत्पादनमा छिमेकी दाइ हीराबहादुरले हौंस्याएको उनले गर्वका साथ बताए। आफूले तालीम लिन नभ्याए पनि छिमेकी दाइले लिएको तालीमबाट आफूले सिक्ने मौका पाएको देवराजले खुशी हँुदै भने।  छिमेकीहरू राम्रो काम सिकेर अघि बढ्छन् कि भनेर सङ्कोच राख्नेहरूका लागि हीराबहादुर उदाहरणीय बनेका छन्।
देवराजले अहिले २०० वटा परालको गुन्टामा च्याउ उत्पादन गरिरहेका छन्। यसअघि उनी काठमाडौंमा रहँदा प्लमिड्ढो काम गर्दा लडेर एक महीनाभन्दा बढी समय अस्पतालमा बिताउनुपरेको थियो। त्यसपछि घर निजगढ फर्किएर बोइलर कुखुरा पालन शुरू गरे। तर उनलाई कुखुरापालन फापेन। सुरुआतबाटै घाटा लाग्न शुरू गरेपछि अर्को विकल्प खोज्ने क्रममा उनी च्याउ उत्पादनतर्फ लागेका हुन्।
थोरै लगानीबाट धेरै आम्दानी हुने छिमेकी अग्रज हीराबहादुरबाट थाहा पाएपछि अहिले उनले २०० वटा परालको गुन्टा तयार गरी च्याउ उत्पादन शुरू गरेका हुन्। दैनिक २० देखि २५ किलोसम्म च्याउ उत्पादन हुने र बिक्री पनि भइरहेको उनले बताए। धेरैजसो गाउघरमैं बिक्री भइरहेको छ। ग्राहकहरू प्रायः घरमैं च्याउ किन्न आउने गरेको बताउँदै उनले कहिलेकाहीं साइकलमा राखेर गाउँघर डुलाउने गर्छन्। उनले पनि प्रतिकिलो २०० रुपैयाँमा च्याउ बिक्री गरिरहेका छन्।
च्याउ उत्पादनलाई अझै बढाउने योजना रहेको हीराबहादुर र देवराज दुवैजनाले सुनाए। ठीकै मात्रामा उत्पादन हँुदा बिक्री गर्न खासै गा–हो नभएको तर उत्पादन बढाउँदा बजारको आवश्यकता हुने उनीहरूले बताए। च्याउ उत्पादनलगायत कृषि कर्ममा निजगढ नगरपालिकालाई सकारात्मक भूमिका निर्वाह गर्न उनीहरूले आग्रह गरेका छन्।
निजगढमा धमाधम होटल व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा अन्य तरकारीका साथै लोकल च्याउको तरकारी पनि समावेश गर्ने हो भने उत्पादनसँगै खपत हुने र स्थानीयहरूको आयआर्जन बढ्ने देखिन्छ। यसतर्फ निजगढ नगरपालिकाले स्थानीय होटल व्यवसायी र च्याउ किसानहरूलाई राखी छलफल अगाडि बढाउनुपर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here