९२ वर्षीया आनन्द कुमारीको जीवनयात्रा

0

राजेश मिश्र

सारे मासको दबदबे हिलो,
छि मलाई घिन लाग्यो,
छि मलाई घिन लाग्यो,
पियारी ज्यानलाई फरिया दिंदा,
लौ बिसरिन लाग्यो,
लौ बिसरिन लाग्यो
होई हो…    
९२ वर्षीया आनन्द कुमारीको स्वरमा उपरोक्त लोकगीत जोकोहीलाई पनि सुनुसुनु जस्तो लाग्छ। उनलाई झ्याउरे गीत खूब मन पर्छ। बूढाबूढी पहिलोपटक हेटौंडामा फिल्म हेर्न गएको याद छ, उनलाई। उनलाई असाध्यै मनपर्ने फिल्ममध्ये ‘कुसुमे रुमाल’ पनि हो। रक्सौल–अमलेखगंज रेलसेवा उनको सम्झनामा छ। आनन्द कुमारीसँग हाम्रो भेट कसरी भयो ? उनीसँग प्रभावित हुनुको कारण के हो ? लगायतका प्रसङ्गहरू यस प्रकार छन्।
वीरगंजदेखि सबैभन्दा नजीक पर्नेे पर्यटकीय क्षेत्र ‘हात्तीसार’को अवलोकन भ्रमणमा जाने योजना अनुसार विकाश शर्मा, गम्भीरा सहनी, राजेश मिश्र, राधेश्याम पटेल, धर्मेन्द्र चौरसिया, शेखर छतकुली, सञ्जय जैसवाल, गुरुदेव उपाध्याय, रमेश जैसवाल, दीपक जैसवाल गरी हामी दशजना कात्तिक ८ गते दिउँसो करीब २ बजे वीरगंजबाट हिंड्यौं। करीब एक घण्टाकोे यात्रापश्चात् बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं २१ मा अवस्थित ‘हात्तीसार’ पुग्यौं।हात्तीसारको एक होटलमा दिउँसोको खाजा र रातिको खाना खाने र बास बस्ने हाम्रो पूर्वनिर्धारित योजना थियो। खाजा खाइसकेपछि हात्तीको सवारी गर्न निकुञ्जभित्र गयौं। थुप्रै मनमोहक दृश्य अवलोकन गरेर पुनः होटल फर्कियौं। खाना खाइरहेको बेला कुर्सीमा बसिरहेकी एक वृद्धातर्फ ध्यान केन्द्रित भयो। राति भइसकेकोले ती वृद्धासँग थोरै कुरा भयो। उमेरले ९ दशक पार गरेकी भएपनि उनको अनुहारमा हरेक शब्दसँग प्रकट हुने मुस्कान, सुमधुर शब्दध्वनि आदिको कारण वीरगंज फर्किसके पनि उनको सम्झना मस्तिष्कमा रहिरह्यो। ती वृद्धाको हँसिलो अनुहार र आँटिलो कुराकानी यो उमेरमा पनि गजबको छ। अपवादबाहेक नाम जस्तै मानिसमा गुण पाइँदैन। तर यी वृद्धाको नाम जस्तै मन र व्यवहार पनि छ।
सञ्चारकर्मी विमला गुप्ता र म वृद्धा आनन्द कुमारीसँग कुराकानी गर्नको लागि कात्तिक १७ गते बाराको  हात्तीसार गयौं। करीब दुई घण्टा हामीबीच भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।
तीन छोरा र दुई छोरीकी आमा हुन्, ९२ वर्षीया वृद्धा आनन्द कुमारी। उनको मुखारवृन्दबाट प्रस्फुटित हुने हरेक शब्दसँग अनुहारमा प्रकट हुने मुस्कान उनको प्राकृतिक गुण हो भन्नुपर्छ।
वीरगंजदेखि करीब ३५ किलोमिटर उत्तर बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजको टोल हात्तीसारमा चार पुस्तासँगै उनको दिनचर्या राम्ररी बितिरहेको छ। कान्छो छोरा–बुहारी र नातिपनातिसँग रमाइलो दिनचर्या बितिरहेको उनी बताउँछिन्।
भित्री पहाडमा हुर्कंदै गरेको एक अबोध बालिकालाई उनको दाम्पत्य जीवन कहाँ र कसरी बित्छ भन्ने कुरा थाहा थिएन। विवाह नगरी माइतमैं बस्ने उनको इच्छा थियो तर ईश्वरको इच्छा भने उनको इच्छाविपरीत थियो। कहिले आमाको पछ्यौरी त कहिले बाबाको औंला समातेर उकालो–ओरालो हिंड्दा आनन्द महसूस गर्ने ती नानीलाई नारायण मानन्धरको जीवनसङ्गिनी बन्नुपर्छ भन्ने कुरा के थाहा थियो र ? ईश्वरको असीम अनुकम्पाले उनको विवाहित जीवन बारा जिल्लाको एक पर्यटकीय क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँगै टाँसिएको बस्तीमा पारिवारिक जीवन बिताउनुपर्छ भन्ने कुरा थाहा थिएन। अपनत्व र ममत्वका साथ बुढ्यौली जीवन यहीं बित्छ भन्ने कुरा उनलाई थाहा थिएन।
उनी पाँच दाजुभाइकी एउटी मात्र बहिनी हुन्। ती युवती पहाडको विकट गाउँमा लोकभाकाको गीतसँग रमाउँदै डोको लिएर घाँस काट्न र बाख्रा चराउन जङ्गल जान्थिन्। घरसारको काममा बुबाआमालाई सघाउँथिइन्। सखी सहेलीसँग रमाउँथिइन्। पहाडको फेदसँग छुट्टिएर कर्मथलो अन्यत्र होला भन्दै मनमा कहिल्यै आएको थिएन। बाराको अमलेखगंज अवस्थित रेलमा काम गर्ने दाइ बिदामा घर आएका थिए। अमलेखगंज फर्किनुभन्दा एक दिनअघि बरण्डामा चियाको चुस्कीसँगै दाइले आमालाई भनिरहेका थिए, “कान्छीलाई पनि सँगै लिएर जान्छु आमा। जबसम्म छु, आलोपालो सबैलाई घुमाइदिन्छु। रेल कस्तो हुन्छ ? यिनीहरूले पनि हेर्नुपर्छ।” घरसँगैको बारीमा गोलभेंडा टिपिरहेकी कान्छीको कानसम्म आमा–दाइको कुराकानी पुगिरहेको थियो।
कान्छीको मन फुरुङ्ग भएपनि आमाको तर्फबाट जानेबारे दाइले कुनै सङ्केत पाएका थिएनन्। आमाले यतिमात्र भनिन्, “बुबासँग सल्लाह गर्नुपर्छ।” आमा काँखमा गाग्री च्यापेर पानी ल्याउन तलतिर जान लागेकी थिइन्। मलिनो अनुहार बनाएकी कान्छीले अचानक आमाको आवाज सुनिन्, “ए कान्छी जाऊ त घाँस काटेर ल्याइदेऊ।” बिचरी ती युवती आमाको उत्तर यही आउँछ भनेर सोचेकी पनि थिइनन्।
आमाको आदेश अनुसार नाम्लो र हँसिया लिएर घाँस काट्न निस्केकी युवतीले कहिल्यै नदेखेको तराई र रेल आदिको कल्पनामा हराइन्। दाइ अमलेखगंजबाट घर आउँदा त्यहाँको बारेमा सधैं सुनाउने गर्थे। नयाँ स्थानका काल्पनिक तस्वीरहरू मनमा घुमिइरहेको थियो। अचानक मुखबाट आवाज निस्कियो, ऐया र घाँसको सट्टा हँसिया बूढी औंलामा परेछ। संयोग नै भन्नुपर्छ, छाला मात्रै कटेको रहेछ। रातिको खाना खाने समयमा आमाले भनिन्, “कान्छी भोलि तिमी दाइसँग जाँदैछौ।” आमाको कुरा सुनेपछि आनन्द कुमारीले भनिन्, “आमाको मुखबाट यति कुरा सुनेपछि मन कति खुशी भएको थियो भनेर वर्णन गरेर साध्य छैन। खुशीको कारण औंलाको घाउ निको भएको जस्तो लाग्थ्यो।”
उनलाई आफू चार वर्षकी हुँदा विसं १९९० मा ठूलो भुइँचालो गएको सम्झना छ। धादिङ जिल्लाको चातराङ भन्ने स्थानमा उनको जन्म भएको थियो। उनले भनिन्, “मालपोत तिर्न धादिङ जानुहुन्थ्यो बा।” शिक्षादीक्षाको सवालमा उनले हाँस्दै भनिन्, “अस्ति भनिन मैले कालो अक्षर भैंसी बराबर भनेर, त्यस्तै छु म।” हाम्रो पालामा विद्यालय नै थिएन। त्यसैले विद्यालय जान पाइएन। पढेकै छैन। जानेकै छैन। बरु छोराछोरीलाई चाहिं विद्यालय पठाइयो। छोराछोरी विद्यालय जान पाए, अलिअलि पढ्न पनि पाए। उनले ‘बिहे गर्दिनँ, माइतमा बस्छु’ भन्दा पनि देवको इच्छा अर्कै थियो। पति काठमाडौंका थिए। जागीरको सिलसिलामा पत् िअमलेखगंजमा बस्थे। दाइ पनि अमलेखगंजमा बस्थे। दाइ र पतिबीच सामान्य परिचय थियो। तपाईंको बिहे कति वर्षको उमेरमा भएको भनी सोध्दा  उनले भनिन्, “मेरो बिहे २५ वर्षको उमेरमा भएको थियो। म त माइतमा बस्छु, बिहे नै गर्दिनँ भनेर बस्या थिएँ। यहाँ (अमलेखगंज) आएपछि दाइले बिहे गर्नुपर्छ भनेर बिहे गराइदिनुभयो।”
बच्चाहरूलाई कसरी हुर्काउनुभयो ? उनी भन्छिन्, “दुःख–सुख गरेर सन्तानहरूलाई पालें। अहिलेको जस्तो मीठोमसिनो खान पाइँदैनथियो। ढिडो, रोटी, साग, सिस्नु यस्तै ख्वाएर सन्तानहरूलाई हुर्काएँ।”
रेलको अनुभव कस्तो छ ? विमला गुप्ताको प्रश्नमा उनी भन्छिन्, “बिहान माल गाडी आउँथ्यो, दिउँसो चाहिं टईन (टे«न) आउँथ्यो, त्यसैलाई पसिन्जर भन्थ्यो। ६ बजे माल गाडी आइपुग्थ्यो। ९ बजे फर्किन्थ्यो। दिउँसो पसिन्जर आउँथ्यो।”
दुईपटक रेल चढेर वीरगंज गएको उनलाई सम्झना छ। विमला गुप्ताको एक प्रश्नमा उनले भनिन्, “पहिला पहिला चाँडै विवाह गरिदिन्थे। तर अहिले चाहिं २०–२२ वर्षको नहुँदासम्म बिहे हुँदैन भन्छन्।”
“बाबरजीको गइरी खेत, पानी है सिरुवा, टपक्कै टिपी माथैमा लाउँला, बाबरी बिरुवा” यो असारे लोकगीत गाउँदै हाँसेको उनको अनुहार हेर्न लायक थियो। यो उमेरमा पनि उनी जाँगर चलाउँछिन्। छोरा, बुहारी र नातिनातिनाहरूले काम नगर्न भन्छन्। तर उनी बारीमा तरकारी र फलफूलको हेरचाह गर्न छाड्दिनन्। घुमफिर गरिरहन्छिन्। छोराछोरी, बुहारी र नातिनातिनाको ममत्वका कारण बाँचिरहेको उनी बताउँछिन्। रक्तचापबाहेक अन्य रोग छैन उनलाई। नियमित औषधि खान्छिन्। सम्भवतः विगतको प्राकृतिक खाद्य सामग्री र शारीरिक परिश्रमले नै उनी यो उमेरसम्म खुशी, उमङ्ग र शान्तिसँग जीवन व्यतीत गरिरहेकी छन्। हाम्रो पनि ईश्वरसँग कामना छ, उनी सधैं यस्तै हाँसीखुशीका साथ जीवन बिताइरहून्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here