नवराज रिजालको ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहका कथानायकहरूको प्रवृत्तिगत विश्लेषण

0

सञ्जय मित्र

१. परिचय
शताङ्कतर्फ उन्मुख नवप्रज्ञापन साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक नवराज रिजाल प्रतिष्ठित साहित्यकार हुन्। शिक्षण/प्राध्यापन पेशामा आबद्ध रिजाल कुशल सम्पादक हुन्। रिजालले देवकोटा व्याख्यान सङ्ग्रह, समायोजन, मैदान, मूच्र्छना, उत्तराद्र्ध, महेश आवाज, नेश्चिल, प्रलेस, बालप्रज्ञा र आलेखनजस्ता साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्।
बारामा जन्मेर काठमाडौंमा जीवनवृत्ति गरिरहेका रिजालका नेपाली तथा अङ्ग्रेजी भाषामा विभिन्न विधाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनले कथा/बालकथा/लघुकथा, कविता, गजल, गीत, नियात्रा, समालोचना/समीक्षा क्षेत्रमा कलम चलाएका छन्। रिजालका बालकथाहरू विभिन्न प्रकाशनका पाठ्यपुस्तकमा पनि परेका छन् र संस्थागत विद्यालयमा पठनपाठन पनि भइरहेका छन्।
२०७७ को प्रदेश २ को प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित रिजालले यसअघि नै सुगन्ध लघुकथा पुरस्कार, शिक्षकश्री पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, राष्ट्रिय वाङ्मय सम्मान, अनेसास पुरस्कार, तेस्रो बालसाहित्य सम्मान, नवसिर्जना उदयमञ्जरी सम्मान, कालीगण्डकी साहित्य कला पुरस्कार, नेपाल भोजपुरी बौद्धिक विकास मञ्च सम्मान, डा मनुमुक्त ‘मानव’ लघुकथा गौरव सम्मान र शब्दयात्रा साहित्यिक पत्रिका सम्मान पुरस्कार तथा अन्य विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। भाषा, साहित्य, साहित्यका विधा तथा साहित्यिक पत्रकारितासित सम्बन्धित विभिन्न संस्थाहरूमा सक्रिय रिजाल वर्तमान पुस्ताका सशक्त हस्ताक्षर हुन्।

२. विषय प्रवेश ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रह पछिल्लोपटक २०७४ मा पाँचौं संस्करणका रूपमा जयकाली प्रकाशनले बजारमा ल्याएको हो। यस सङ्ग्रहको पहिलो प्रकाशन २०६० मा भएको थियो। पहिले नै प्रकाशित दुई साना बालकथा सङ्ग्रहलाई एकीकृत गरेर प्रकाशित गरिएको यस सङ्ग्रहमा अठार बालकथा छन्। कथ्य विषय, परिवेश, पात्र तथा प्रस्तुति शैली आदिमा विविधता छ। कतिपय कथा एकजना मुख्य पात्रको वरिपरि केन्द्रित छन् भने कतिपय कथा बहुपात्रमा केन्द्रित छन्। कथाका पात्रहरूको व्यक्तित्व र चरित्रमा भिन्नता पार्थक्य छ। प्रस्तुत बालकथामा कथाकार रिजालले जन्माएका पात्रहरू नेपाली समाजभित्रैका छन्। नेपालको हिमाल, पहाड र तराई–मधेसका पात्रहरू चयन गरेर परिवेशगत पुष्टिका साथ कथात्मक सूत्रमा बाँधेका छन्। पात्रहरूको मनोविज्ञान, व्यवहार तथा प्रवृत्तिमा पनि पार्थक्य पाइन्छ। अधिकांश कथामा कथाकार रिजालले बालनायकको प्रयोग गरेका छन्। यसैगरी, पात्रहरूको स्वभाव पनि फरक नै रहेको छ। मुख्य एक र त्यससँग सम्बन्धित अन्य सहायक घटना, त्यसप्रति नायकको प्रतिक्रिया तथा कथाको आरम्भदेखि अन्त्यसम्म कथानकसँगै अगाडि बढ्दा नायकपात्रमा आउने परिवर्तनले नायकको प्रवृत्ति बुझ्न सकिन्छ। कतिपय नायकपात्र नकारात्मक प्रवृत्तिबाट सकारात्मक प्रवृत्तिमा परिवर्तन भएका छन् भने कतिपय नायकपात्रले अन्य नकारात्मक चरित्रमा सकारात्मकता ल्याएका छन्। प्रस्तुत ‘बोक्सी बूढी’ बालकथा सङ्ग्रहभित्रका कथाहरूको यही प्रवृत्तिगत विश्लेषण यहाँ प्रस्तुत गरिएको छ।

३. नायकपात्रको प्रवृत्तिगत विश्लेषण
‘बलवीरे सुध्रियो’ सङ्ग्रहभित्रको प्रथम कथा हो। शीर्षकले सङ्केत गरे अनुसार यस कथाको नायक बलवीरे हो। विपन्न परिवारको र बदमाश भएकैले उसको नाम बलवीरे भनेर बोलाइएको हुनुपर्छ। हैनभने उसको स्वाभाविक नाम बलवीर हुनुपर्ने हो। अरूले जति सम्झाए–बुझाए पनि नमान्ने बलवीरे बाढीमा परेर झन्डै मर्नबाट जोगिन्छ। त्यसपछि उसको चरित्रमा सकारात्मक परिवर्तन आउँछ। जीवन गम्भीर सङ्कटमा नपरुञ्जेल कतिपय मानिसले जीवनको महत्व बुझ्दैनन् भन्ने दर्शन स्पष्ट्याउन यस पात्र र कथानकको आयोजन गरिएको छ। प्रतिकूल प्रवृत्तिको बलवीरे अनुकूल प्रवृत्तिको चरित्रमा परिवर्तन भएपछि कथानकको स्वाभाविक अवतरण हुन्छ।
‘म पनि जान्न’ पारिवारिक कथा हो। बहुपात्र विधि प्रयोग गरिएको यस कथामा दुई प्रौढ र तीन बालबालिका छन्। कथाका नायकपात्रहरू धर्मेन्दर र रविन्दर छन्। बुबा र आमा प्रतिकूल पात्र हुन्– छोरी रामकलीलाई पढ्न नपठाउने। छोरी पराया घरको सम्पत्ति भन्ने पछौटे मनोविज्ञानका बुबा र आमालाई धर्मेन्दर र रविन्दरले अन्तमा परिवर्तन गर्न सफल हुन्छन्। छोरालाई पढाउने चाहना राख्ने भएकाले दुवै नायकले दिदी रामकली विद्यालय नगए आफूहरू पनि नजाने अडान लिन्छन्। द्वन्द्वले सकारात्मक परिणाम ल्याउँछ र बुबा–आमाको आँखा खुल्छ। कथाको प्रारम्भदेखि नै अनुकूल प्रवृत्तिका नायकद्वय अपरिवर्तनशील देखिएका छन् तथा नायकद्वयको त्याग र सङ्घर्षले अभिभावकको मनोविज्ञानमा अनुकूल परिवर्तन ल्याउन सफल भएको देखाइएको छ। एकतामा बल हुन्छ र सकारात्मक परिवर्तनका लागि सङ्घर्ष गर्नैपर्छ भन्ने देखाउन कथानकको आयोजन गरिएको छ।
‘नयाँ लुगा’ र ‘शर्मिली’ पनि पारिवारिक कथा हुन्। अतिविपन्न परिवारकी शर्मिली फगुवाको समयमा अरू साथीजस्तै नयाँ लुगाको चाहना राख्छिन्। घरमा एक्ली सन्तान शर्मिलीले बुबा र आमाको पीडा बुझ्छिन् र आफैंले लाएकै लुगाले फगुवा मनाउने प्रस्ताव दुवैजना समक्ष राख्छिन्। बाआमा खुशी हुनु स्वाभाविकै हो तर शर्मिली गतिशील पात्र हो भन्ने स्पष्ट हुन्छ। बालसुलभ चञ्चलताभन्दा परिस्थितिको बोधगम्यता बढी देखिन्छ शर्मिलीमा। बुबा–आमाको पीडा बुझ्ने बालबालिकाले कठिन अवस्थामा पनि परिवारमा खुशी दिन सक्छन् भन्ने देखाउन कथानकको संरचना गरिएको छ।
‘सबैका शत्रु’ बहुनायक र अझ सामूहिक नायकविधिको प्रयोग गरिएको कथा हो यो। पृथक र लिङ्ग उमेरका दीक्षा, शिक्षा र प्रह्लाद हजुरबासित कथा सुन्न उत्सुक हुन्छन्। हजुरबाले अल्छीपन, घमण्ड र अज्ञानता सबै मान्छेका शत्रु हुन् भनेर कथानक जोडेर सफलतापूर्वक तीनैजनाको मनमा पार्न सफल हुन्छन्। हजुरबा कथावाचक र तीन बालबालिका श्रोता हुन्। कथामा बढी भूमिका हजुरबाकै रहेको छ तर हजुरबा बालमनोविज्ञान अनुकूल चलेको देखाइएको र बालबालिकाको इच्छालाई प्रधानता दिनुका साथै यो बालकथा भएकोले नायकत्व बालबालिकामा रहेको छ। बालबालिकाहरूमा सामान्य मनोवैज्ञानिक सकारात्मक परिवर्तन भएको देखाइएको छ। यसमा फरक किसिमको द्वन्द्व प्रयोग गरिएकोले कम गतिशीलता रहेको छ।
‘आँखा खुलेपछि’ कथामा आन्तरिक र बाह्य दुवै द्वन्द्वको उत्कर्ष देखाइएको छ। चौध वर्षका शरद र बा–ह वर्षका विराज साख्खै दाजुभाइ भएपनि विपरीत चरित्रको पात्रका रूपमा कथामा उभ्याइएका छन्। कथामा शरद प्रारम्भदेखि नै अनुकूल र विराज प्रतिकूल प्रवृत्तिका छन्। द्वन्द्वले कथालाई उत्कर्षतिर पु–याएपछि विराजको आँखा खुल्छ। विराज नकारात्मक प्रवृत्तिबाट सकारात्मक प्रवृत्तिमा परिवर्तन हुँदा पाठकको सहानुभूति प्राप्त गर्दछ। दाजु–भाइमा आपसी प्रेम र विश्वास हुनुपर्ने विषयलाई कथानकले अङ्गीकार गरेको छ। स्थिर प्रवृत्तिका पात्रले प्रतिकूल प्रवृत्तिका पात्रको प्रवृत्तिमा सकारात्मक परिवर्तन ल्याउन सकेको छ। सुखान्तमा कथानक टुङ्गिदा दुवै प्रमुख पात्र अनुकूल प्रवृत्तिका भइसक्छन्।
‘सन्देश घर फर्कियो’ कथाको नायकपात्र सन्देश हो। आफ्ना पितासित बनारसमा बस्ने सन्देशले विद्यालयमा राम्रो गरे पनि हेपिनुपर्ने र कक्षामा न्याय पाउनु नपर्ने कारण हुन्छ– फरक भूगोल र जाति तथा राष्ट्रियता। यस कुरालाई ऊ बुझेर नेपालस्थित घर फर्कन्छ। नायक सन्देशको मनोविज्ञानको सफल चित्रण छ। मनले आफ्नो नठानेको ठाउँमा मानिस अनेक किसिमका अपहेलना र अवमाननाको शिकार हुनुपर्दछ भन्ने देखाउन कथायोजना गरिएको प्रस्तुत कथाको नायक आरम्भदेखि अन्त्यसम्म अनुकूल प्रवृत्तिको छ र पाठकको सहानुभूति बटुल्न सफल छ।
‘तिनीहरूको निर्णय’ कथामा बहुपात्र विधिको प्रयोग गरिएको छ। हिसिला र मदिना दुई नायक हुन्। दुवै नायक प्रारम्भदेखि नै अनुकूल प्रवृत्तिका छन्। गाउँमा बाढीपहिरोको कारण ठूलाबडाबाटै जानेर बाढीपहिरोबाट हुने हानि र बच्नको लागि गर्न सकिने उपायबारे मादल बजाएर गीत गाउँदै जनचेतना जगाउने तिनीहरूको उपायमा गाउँले सहमत हुन्छन्। जनचेतना जगाउने उपायमा सहमत हुनु भनेको गाउँमा बाढीपहिरोबाट जोगिन र रूखबिरुवाको संरक्षण गर्न पनि सहमत हुनु हो। पर्यावरण सन्तुलन हरेक गाउँटोलमा हुुनुपर्ने कथ्यविषयको लागि कथायोजना गरिएको तिनीहरूको निर्णयका नायकपात्रहरूले आफ्नो तरीकामा सबैलाई सहमत गराउन सकेका छन्।
‘बसका साथी’मा मामाघर जान लागेका बिगुल र विपनाको संयुक्त नायकत्व छ। दुवै सकारात्मक मनोवृत्ति भएका पात्र हुन्। बसमा यात्रा गर्दा पनि आफ्नो समयलाई पढाइको दृष्टिकोणले उपयोग गर्न सकिन्छ। सिकाइको दृष्टिकोणले यात्राको समय पनि खेर जान दिनुहुँदैन भन्ने दर्शनलाई यसमा कथानक बनाइएको छ। पढेको, सुनेको र देखेको कुरो सम्झना गर्ने बानी भएका दुवै पात्रले बसका मानिसहरूको सहानुभूति प्राप्त गर्दछन्। नयाँ कुराहरू पनि सिक्दै यात्रालाई रमाइलो बनाएका बिगुल र विपनाको प्रवृत्तिमा कुनै परिवर्तन आएको पाइँदैन।
‘रमाइलो यात्रा’मा फरक किसिमको नायकत्व रहेको छ। कथाको प्रारम्भमा राकेश नायकपात्रको रूपमा देखा पर्छ। अति जिज्ञासु स्वभाव भएको र सम्झना पनि गर्न सक्ने क्षमता भएकोले कथाको प्रारम्भमैं राकेशप्रति सहानुभूति उत्पन्न हुन्छ तर कथाले उनको बुबाको नायकत्व ग्रहण गर्दछ र राकेश गौणपात्र बन्न पुग्दछ। राकेशको बुबासँगै विद्यालयका प्रधानाध्यापक पनि सहनायक हुन पुग्छन्। नायकत्व परिवर्तन हुनु कथाको वण्र्य विषयको माग पनि देखिन्छ। परिवेशले साथ दिएको छ। हरेक नायक सकारात्मक मनोवृत्ति र व्यवहार भएका अनकूल पात्र हुन्। विद्यार्थीको लागि शैक्षिक भ्रमणको मूल्य र महत्व दर्शाउन यस कथाको आयोजन गरिएको हो।
‘छिः छिः चोर’ कथामा नुरबानु र सफिना नायक छन्। बाआमासँगै घुम्न निस्कँदा चोरलाई समातेर लैजाँदै गरेको देख्छन्। किन कोही चोरी गर्छन् ? भन्ने जिज्ञासा हुन्छ। अल्छीहरू पछि गएर चोर हुन सक्छन्। आफ्नो काममा परिश्रम नगर्नेहरू बेइमान पनि हुन सक्छन्। परिश्रमी र इमानदार बन्नुपर्दछ भन्ने विषयलाई चोरको दुर्दशा प्रस्तुत गरेर बालबालिकालाई परिश्रमी र इमानदार बन्नुपर्ने प्रेरणा दिने कथाका दुवै नायक सत्पात्र नै हुन्। अझ परिश्रमी र इमानदार बन्ने मनोदृढता दुवै नायकमा थपिएको छ। दुवै नायक अनुकूल प्रवृत्तिका छन् र अनुकूलताप्रति दृढतर बन्दछन्।
‘उगेन र सोनाम’ कथामा तत्तत् नामधारी दुई समवयिक पात्र हुन्, एकै गाउँका। दुवैमा वर्गीय भिन्नताले उत्पन्न गरेको दृष्टिकोणमा समेत पार्थक्य छ। प्रारम्भदेखि उगेन प्रतिकूल प्रवृत्तिका र सोनाम अनुकूल प्रवृत्तिका पात्र हुन्। परिश्रम सदा पूज्य हुनुपर्दछ भन्ने मान्यता कथाको वण्र्य विषय हो। उगेनकी आमाको ज्यान नै सङ्कटमा परेको बेला सोनामका बुबाले अस्पतालसम्म नपु–याएका भए के हुन्थ्यो भन्न सकिन्न। एउटा घटनाले उगेनमा परिवर्तन ल्याउँछ। कथामा सोनामप्रति सहानुभूति रहन्छ तर उगेनप्रति अन्त्यमा सहानुभूतिको भाव आउँछ। प्रतिकूल सोनाम कथान्तमा अनुकूल बन्दछ।
‘बोक्सी बूढी’ कथा यस कथासङ्ग्रहको पनि शीर्षक हो। आयामको दृष्टिले सबैभन्दा लामो छ। महेश र सुरेशले एक महिलालाई बोक्सी भन्दै अमानवीय व्यवहार गर्दै गरेको दृश्य देखेपछि आमालाई सोध्छन्। घरका अन्यले पनि दुव्र्यवहारमा परेकी महिला र बोक्सीबारे पहिले बताउन चाहँदैनन्। तर बोक्सी हुँदैन, एकल तथा असहाय वा विपन्न महिलालाई होच्याउने एउटा आधार बनेको बोक्सी प्रथाविरुद्ध मनोवैज्ञानिक र व्यावहारिकरूपमा बालबालिकालाई यस कथाले सकारात्मक चेतना प्रदान गरेको छ। सकारात्मक प्रवृत्तिका दुई बालपात्रका अगाडि समाज नै चेतना रोक्ने पर्खाल बनेको छ। दुवैमा अन्ततः बोक्सी हुँदैन र यो अपमानजनक व्यवहार हो भन्ने कुरा राम्ररी बुझ्दछन्। तर निर्दोष र निरपराध ती बोक्सी भनिएकी महिलाप्रति कथाले न्याय गर्न सकेको छैन। दुई नायकपात्रको मनबाट बोक्सीको अवधारणा हटाउन सक्नु यस कथाको उपलब्धि हो।
‘दुष्टहरू भागे’ कथामा बालबालिकाको प्रयोग गरिएको छैन। यसमा मानवीय र गैरमानवीय गरी दुवै किसिमका पात्रको प्रयोग गरिएको छ। यस कथाको नायक भदै खाँ हो। किसान भदै खाँको वनको नजीकको खेतमा बँदेलले दिने दुःखबाट सर्वदाको लागि उन्मुक्ति पाएको कथा छ। उपाय उनकी पत्नीले झिकेकी हुन्। बँदेललाई यन्त्रको प्रयोग गरेर समातिएको छ। युक्तिले भदै खाँको प्रतिष्ठा बढेको छ। किसानको सम्मान भएको छ। गाउँका केही मानिस पहिलेदेखि भदै खाँप्रति त्यत्ति राम्रो दृष्टिकोण राखेका थिएनन् तर भदै खाँको सफलतापछि उनीप्रतिको सम्मानमा वृद्धि भएको छ। भदै खाँ कथाको प्रारम्भदेखि नै अनुकूल प्रवृत्तिका छन् र कथान्तमा सबै मानवीय पात्र उनीप्रति अनुकूल बन्दछन्।
‘पाटेबाघले हा–यो’ कथामा झन् धेरै पात्र छन्। सामूहिक नेतृत्व अर्थात् सामूहिक नायकत्वको दृष्टान्त हो यो कथा। एउटा पाटेबाघले गाउँलाई निकै सताएको अवस्थामा पुतली, जुनकीरी, फुरौले झुमा, गोरे र चन्द्रेले योजना बनाइ बुद्धिमानीपूर्वक पाटेलाई समात्छन्। गाउँको ठूलो समस्या समाधान हुन्छ। पाटेबाघ विवश बन्न पुग्छ। कथाको प्रारम्भमा बाघको प्रभावमा गाउँ देखिन्छ भने कथान्तमा बालबालिकाको प्रभावमा गाउँ आएको देखिएको छ। त्रासको वातावरणबाट शान्त माहोलमा गाउँ परिवर्तन भएको छ। यसमा आएका सबै बालबालिका सकारात्मक दृष्टिकोण राख्ने अनुकूल प्रवृत्तिका छन्।
‘ती बूढा मान्छे’ कथाको शैली उत्सुकतापूर्ण छ। सरल रेखीय शैलीमा बगेको प्रस्तुत कथाको मुख्य पात्र वा नायकपात्र बालिका निकिता हो। हजुरआमासित अस्पताल गएकी निकिता एकजना वृद्धलाई निकै सहयोग गर्छिन्। पछि विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुँदै जाँदा उनमा सक्रियता बढ्दै जान्छ। कक्षा आठको जिल्लास्तरीय परीक्षामा जिल्लाभरिमा सर्वोत्कृष्ट हुँदा निकितालाई देशकै ठूलो कविको हातबाट पुरस्कृत गरिन्छ। ती उनै मान्छे थिए, जसलाई अस्पतालमा सहयोग उनले गरेकी । निकिता द्रविभूत हुन्छिन्। पुस्तकहरू पनि प्राप्त गर्छिन्। शुरूदेखि नै अनुकूल प्रवृत्तिको नायकपात्रमा अन्त्यसम्म एकैनाशको स्वभाव रहिरहन्छ। पाठकको सहानुभूति प्रारम्भदेखि अन्त्यसम्म निकिताको साथमा रहिरहन्छ।
‘बा–आमाको खुशी’ कथाको नायक बिर्जु हो। बालक बिर्जु भोकै सुत्ने क्षमता राख्दछ। आपत्तै परे पनि कसैको सामान नछुने इमानदारीको उदाहरण बन्दछ। घरमा बा–आमा नहुँदा भाइ पल्टुको अभिभावकको भूमिका निर्वाह गर्दछ। बा–आमाजस्तै इमानदारीको परिचय उसले बनाएको छ। टोलछिमेकका हरेकले बिर्जुको मुक्तकण्ठले प्रशंसा गर्दा बा–आमा खुशी भएका छन्। कथाको आरम्भदेखि अनुकूल प्रवृत्तिको बिर्जुको सङ्घर्षले कथालाई मार्मिक बनाएको छ। मातापिताका आज्ञाकारी सन्तान भएमा टोलछिमेकले पनि गर्व गर्दछ। सहनशील बिर्जुले आफ्नो सहनशीलता, इमानदारीपन तथा आज्ञाकारिताको सुगन्ध गाउँभरि फैलाउन सफल भएको छ।
‘झ्याउँकीरीको सपना’ कथाको नायक पात्र झ्याउँकीरी हो। बालिका झ्याउँकीरीको सपना हिमाल चढ्ने थियो। पहिले भारी बोकेर हिमाल चढ्ने साहस बटुलेकी झ्याउँकीरी आखिरमा हिमाल चढी छाड्छे। गाउँमा त प्रशंसा हुन्छ नै विदेशमा पनि चर्चाको पात्र बन्न पुग्ने झ्याउँकीरीमाथि सबैको गर्व हुन थाल्छ। धैर्य, साहस र अभ्यास भएमा हिमालको शिर पनि पैतालामुनि आइपुग्छ भन्ने दर्शनलाई कथाले अङ्गीकार गरेको छ। आफ्नो वरपर नै हामीलाई महान् बनाउने विषयहरू विद्यमान छन्, त्यसको आफ्नो प्रतिभा अनुसार पहिचान गर्नुपर्दछ भन्ने अत्यन्त सकारात्मक भावलाई कथाले प्रस्तुत गरेको छ।
‘राजधानीको यात्रा’ कथामा प्रयोग भएका सबै नायक गैरमानवीय पात्र हुन्। लोखर्के, भ्यागुतो र मुसो तीन प्रमुख पात्र हुन्। वीरगंजबाट यिनीहरू काठमाडौं पुग्छन्। दुई हप्ता काठमाडौंमा बस्छन् र विभिन्न ठाउँको भ्रमण गर्छन्। फर्किने समयमा मुसोको ज्यान लोभले गर्दा जोखिममा परेको हुन्छ तर जोगिन्छ। लोभले विलाप पनि हुन सक्ने मुसोको लोभबाट देखाइएको छ। भ्यागुतोको राजधानी भ्रमणले पाठकमा पनि राजधानी भ्रमणको लालसा उत्पन्न गराउन सफल छ। राजधानीको चित्रण सामान्यरूपमा गरिएको छ। कथा सरल छ। रोचक छ। बालबालिकाको लागि अझ रोचक र बोधगम्यताको सीमाभित्रै छ। कथामा प्रयोग भएका तीन पात्रमध्ये दुई अनुकूल र एक केही प्रतिकूल प्रवृत्तिका भएपनि तीनजनाको मित्रता उदाहरणीय छ। मुसोले आफ्नो गल्ती स्वीकार गर्दछ। यसबाट मुसो पनि अन्तमा पूर्णतया अनुकूल पात्र बन्न पुगेको छ।

४. निष्कर्ष
‘बोक्सी बूढी’ एउटा सरल बालकथा सङ्ग्रह हो। यसमा प्रयोग गरिएका पात्रहरूमध्ये अधिकांश समस्यामा परेका र विपन्न वर्गका छन्। पात्रहरूको भौगोलिक परिवेश, पारिवारिक पृष्ठभूमि तथा साथीहरूको प्रभावबाट चरित्र तथा प्रवृत्तिको निर्धारण गरिएका छन्। उमेरजन्य स्वाभाविक जिज्ञासामूलक पात्रहरूको चयन गरिएका छन्। प्रतिभाको सम्मान गरिएको छ। सङ्ग्रहमा आएका कथाहरूका नायकपात्रहरूमध्ये केही प्रारम्भदेखि अन्त्यसम्म अनुकूल प्रवृत्तिका, केही प्रारम्भमा प्रतिकूल र पछि अनुकूल प्रकृतिका गरी मूलतः दुई किसिमका छन्। सङ्ग्रहमा परेका कुनै पनि कथाका कुनै पनि पात्र यस्ता छैनन्, जो प्रारम्भमा अनुकूल प्रकृतिका र घटनाक्रमले प्रतिकूल प्रवृत्तिका बनेको होओस्। यसबाट कथाकारको पनि प्रवृत्ति बुझ्न सहयोग पु–याउँछ।
कथाकार नवराज रिजालको बोक्सी बूढी बालकथा सङ्ग्रहमा पात्र चयन र पात्रहरूको प्रवृत्तिको दृष्टिकोण दुवै सकारात्मक रहेको भन्न सकिन्छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here