नातिनातिनाको माया, बुहारीको सेपिलो छाया

115

वैधनाथ ठाकुर

समय बित्न समय लाग्दैन। हप्तामा एउटा लेख लेख्न पनि कति गा–हो हुन्छ। प्रत्येक शनिवार प्रतीक दैनिकमा स्वतन्त्र विचार स्तम्भमा लेख्दै आएको यतिबेला पन्ध्र वर्ष भइसकेको छ। शुक्रवार पनि कति छिटो आउँछ जस्तो लागिरहन्छ। पहिलेको कार्यक्षमता र अहिलेको कार्यक्षमतामा पनि फरक आएर होला। साठी वर्ष उमेरले कटिसकेपछि अब धेरै काम गर्न मन यसै पनि गर्दो रहेनछ।
बिहीवार बिहानको खान खाँदै थियौं। मैले भने भोलि लेख पनि लेख्नु छ तर आजसम्म के विषयमा लेख्ने हो, त्यसको टुङ्गो पनि भएको छैन। राजनीतिक लेख पनि कति लेख्नु। लेख्दालेख्दा हाम्रो कलम थाक्ला तर यो देशका राजनीतिककर्मीहरूको चरित्रमा कुनै सुधार आउँदैन। सुधारको कुराभन्दा पनि विकृति, विसङ्गति झन् झाङ्गिदै गएको छ। बेलाबेलामा अचेल साथीभाइहरू पनि भन्ने गर्छन्– कति लेख्नुहुन्छ सर ? जति लेखे पनि खोई के सुधार भएको छ, हाम्रो समाज, अर्थतन्त्र तथा भ्रष्टाचार युक्त राजनीतिक व्यवस्थापनमा।
सँगै खाना खाइरहेकी कक्षा चारमा पढ्दै गरेकी मेरी नातिनीले भनिन्– हजुरबुबा यसपालि नातिनीको माया विषयमा नै लेख लेख्नु।
नातिनीको कुरा सुनेर मलाई पनि लाग्यो हो त नि यसपालि नातिनी, नाति र हजुरबुबा, हजुरआमाको मायाको बारेमा नै केही लेखुँ जस्तो लाग्यो।
तराईको मधेसी परिवार होस् वा पहाडको पर्वते परिवार होस्, दुवै ठाउँमा नाति–नातिनी हजुरबुबा–आमाको लागि बढी प्यारो हुन्छ। सामाजिकरूपमा नातिनातिनी र हजुरबुबाआमाको सम्बन्धलाई लिएर एउटा उखान नै प्रचलित छ, ‘साहुलाई मूलभन्दा ब्याजको बढी माया हुन्छ।’ कुरा साँच्चै हो। नातिनातिनाप्रति हजुरबुबा र हजुरआमाको माया बढी प्रगाढ हुन्छ। नातिनातिना हजुरबुबाको गाउँघर आउन पाउँदा बढी खुशी हुन्छन्। आफ्नो घरमा उनीहरूलाई बुबाआमा, हजुरबुबा र हजुरआमाको अलि बन्धन जस्तो अनुभूति महसूस भएपनि मामागाउँमा अलि बढी नै स्वतन्त्र रहेको अनुभूति गर्छन्।
मामागाउँमा प्रत्येक दिन नयाँ–नयाँ खानेकुराका परिकारहरू, मन लागेको चकलेट, बिस्कुट, खेलौना जस्ता कुनै पनि चीजको कमी कहिले अनुभूति नभएकोले गर्दा जहिले पनि भान्जा, भान्जीहरू मामागाउँ आउन लालायित रहन्छन्। अझै खासगरी तराईमा प्रायः केटाकेटीहरू बढी समय मामागाउँमैं बिताउने गर्छन्। अझै कतिपय त मामागाउँमा नै पढ्ने समेत गरेका हुन्छन्। जस्तो कि कक्षा पाँचसम्म म स्वयम् पनि मामागाउँ जनकपुरनजीक रहेको बिन्हीमैं पढेको हुँ।
मामा, हजुरबुबा तथा हजुरआमाको लागि भान्जा, भान्जी, नाति, नातिनी एउटा खेलौना जस्तै भएको हुन्छ। दिनभरि कामको थकान, पीडा, चिन्ता जेजस्तो भए तापनि साँझ र बिहान नाति, नातिनी, भान्जा, भान्जीसँग खेल्न रमाउन पाउँदा सबै दुःख, पीडा हराएको अनुभूति सहजै हुने गर्दछ। झन नातिनातिनाहरूलाई मेला, हाटबजार घुमाउन लैजानुको मजा बेग्लै छ। भान्जाभान्जीहरू एक रुपैयाँको चकलेट मात्रै पाउँदा पनि के के न पाएको जस्तो खुशीले उफ्रिने गर्छन्। बालपन हुन्छ नै त्यस्तै ससानो कुराले उनीहरूलाई ठूलठूला खुशी दिएको हुन्छ। उनीहरूको माग अत्यन्तै सानो भएकोले उनीहरू चौबीस घण्टामा झन्डै जाग्रामको अवस्थामा नब्बे प्रतिशत समय खुश नै रहन्छन्।
भनिन्छ, केटाकेटीले जहाँ बढी माया पाउँछन्, त्यहाँ बढी रमाउँछन्। कुरा साँच्चै हो। पहिले पहिलेका केटाकेटीलाई खुशी दिने खेलौनादेखि खानपान, रहनसहन तथा लुगाफाटो सम्पूर्ण कुरामा हिजोआज परिवर्तन भइसकेको छ। मङ्सिर महीनामा यतिबेला गाउँघरमा ठूलठूला घोडा, भालु आदि आउने गर्थे। कमजोर, पातलो जीउ नलागेका केटाकेटीलाई भालुमा चढाएर भालुसँग चाक फुकाउने चलन यतिबेला हराइसकेको छ। जङ्गली जीव संरक्षणको नीति तथा जनावरको अधिकारसम्बन्धी कानूनले गर्दा गाउँघरमा सर्प, बाँदर, भालु जस्ता चीजको खेल दुर्लभ भएको छ। जेहोस् यिनीहरूको सट्टामा यतिबेला केटाकेटीहरूले हातहातमा मोबाइल पाएका छन्। मोबाइलमा युट्युब च्यानलमा केटाकेटीले मन पराउने विभिन्न प्रकारका कार्टुनहरू, नाचगानका भिडियोहरू, अनेकौं प्रकारका ज्ञानवद्र्धक खेलहरूलगायतकाले केटाकेटीलाई मोबाइलमुखी बनाएको छ। अहिले कतिपय केटाकेटी मोबाइल हातमा भएन र उसले मन पराएको चीज त्यसमा चलेन भने खाना पनि खाँदैनन्।
जेहोस्, हजुरबुबाको घर नातिनातिनाको लागि स्वर्ग समान नै हुन्छ। तर प्रत्येक ठाउँमा खलनायक हुने गर्छ। खलनायकविनाको फिल्म राम्रो हँुदैन। हजुरबुबाको घरमा माइजू प्रायः खलनायकको भूमिकामा हुन्छिन्। मुखले मामा, सासू र ससुराको डरले नबोले पनि व्यवहारमा चण्डाल चौकडी जस्तो भूमिका माइजूले सफलतापूर्वक निर्वाह गरिरहेकी हुन्छिन्। न अनुहार कहिले उज्यालो हुन्छ, न मुखमा हाँसो। जुन बेला पनि निकै नै चिन्ताले घेरेको जस्तो देखिन्छ, अनुहार माइजूहरूको।
बुहारीहरूको पनि आफ्नै पीडा हुन्छ। उनीहरूलाई लाग्छ सासू र ससुराले माया मात्रै होइन, सारा सम्पत्ति नै नातिनातिना र छोरीज्वाइँलाई दिने पो हुन् नि ? बुहारीहरू सासूससुराको सम्पत्तिमा जसरी आफ्नो अधिकार माग्छन्, त्यसैगरी नै बूढाबूढीको सेवा गर्ने, रेखदेख गर्ने, उनीहरूको विचार बुझ्ने, अनुसरण गर्ने कार्यलाई आफ्नो कर्तव्य बुझी दिएको भए सुनमा सुगन्ध हुने थियो। तर हुन्छ यसको ठीक उल्टो। बुहारीहरूले प्रायः पतिलाई आफ्नो मुठीमा पारेका हुन्छन् र सासूससुरालाई मान्छे नै गन्दैनन्। नातिनातिनालाई झन के मान्छन् र गन्छन्। नातिनातिनाले खाएको, लगाएको, हासेको, खेलेको केही पनि मन परेको हुँदैन। जसरी छहारीमा परेको बिरुवा सूर्यको प्रकाश नपाएर हुर्किन गा–हो हुन्छ, ठीक त्यसरी नै हजुरबुबा र हजुरआमाको माया नातिनातिनाले पाए पनि माइजूको छायाले गर्दा मनोविज्ञान विकासमा अवरोध हुन्छ। सम्पत्तिमाथिको अधिकारको वर्तमान व्यवस्थापनमा परिवर्तन नआएसम्म अझै दशकौं नातिनातिनाहरू माइजूको कालो छाया खेप्न बाध्य हुनेछन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्