राधेश्याम पटेल, वीरगंज, १० मङ्सिर/
मुलुकको प्रमुख भन्सार नाकाको रूपमा चिनिने वीरगंज भन्सारको राजस्व सङ्कलन पुरानो लयमा फर्केको छ। गत कात्तिक महीनामा लक्ष्यभन्दा ३२ प्रतिशत अर्थात् १३ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेपछि वीरगंज भन्सारको कारोबार तथा राजस्व सङ्कलन पुरानो लयमा फर्केको भन्सार अधिकारीहरूले बताएका छन्।
वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार गत कात्तिकमा सरकारले साढे १० अर्ब राजस्व सङ्कलनको लक्ष्य दिएकोमा तिहार तथा छठको मौका छोपी विभिन्न सामानको आयात बढ्दा राजस्व सङ्कलनमा सुधार आएको हो। चालू आर्थिक वर्षको प्रथम चौमासिकमा भने वीरगंज भन्सारले लक्ष्य पूरा गर्न सकेको छैन।
चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म वीरगंज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँँ राजस्व लक्ष्य पाएकोमा ४३ अर्ब ६७ करोड रुपैयाँँ मात्र राजस्व सङ्कलन भएको छ। यो रकम लक्ष्यको ९५ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को साउनदेखि कात्तिकसम्म यो भन्सारले लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो।
कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा हटेपछि वैदेशिक व्यापार बढेर आयात–निर्यात कारोबारमा सुधार आएको छ भने गत कात्तिक मसान्तमा राजस्व सङ्कलनमा सकारात्मक सुधार देखिएको वीरगंज भन्सारले जनाएको छ।
पेट्रोलियम पदार्थ र गाडी आयातमा सुधार आएकाले कात्तिकमा राजस्व पनि बढेको वीरगंज भन्सारका सूचना अधिकारी साहले बताए। “पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको पहिलो चौमासिकमा कम भएपनि कात्तिकमा केही सुधार देखिएको छ। तयारी कपडा, भटमासको कच्चा तेल, एचआरसिट जस्ता वस्तुको आयात बढेको देखिन्छ,” उनले भने।
लकडाउनको समयमा मुश्किलले १५० वटा गाडी वीरगंज भन्सारको नाकाबाट भित्रिने गरेकोमा अहिले दैनिक ७ सय गाडी जाँचपास भई नेपाल भित्रिरहेको बताइएको छ।
गत साउनदेखि लगाइएको देशव्यापी लकडाउनले भदौ र असोजमा वीरगंज भन्सारको राजस्व सङ्कलन डगमगाएको थियो।
वीरगंज भन्सारले साउनदेखि असोजसम्म तीन महीनामा लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो।
साउनमा लक्ष्यभन्दा करीब २२ प्रतिशत बढी राजस्व उठेको भन्सारले भदौ र असोजमा लक्ष्य हासिल गर्न सकेको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here