कुमार रुपाखेती

संसारका सबैजसो मुलुकमा आफ्नै किसिमको चाडपर्व मनाउने र रमाउने प्रचलन हुन्छ। जसरी नेपालमा बडादशैं, तिहार, छठ र फगुवालाई विशेष चाडपर्व मानिन्छ त्यसरी नै अमेरिकालगायत मुलुकहरूमा विभिन्न चाडपर्व मनाइँदो रहेछ। हेलोविन पर्वको झन्डै एक महीनापछि र क्रिसमस पर्वको झन्डै एक महीना अघि मनाइने अमेरिकी क्रिश्चियनहरूको महत्वपूर्ण चाड हो थैङ्कस गिभिङ डे। अमेरिका, क्यानडा, ब्रजील, लाइबेरिया आदि देशमा मनाइने यो पर्वमा राष्ट्रिय बिदा हुन्छ र बजारमा निकै चहलपहल बढेको देखिन्छ। भनिन्छ, आफूले उब्जाएको अन्नपातप्रति कृतज्ञता व्यक्त गर्न र बितेका वर्ष र त्यसका अनुभवप्रति आभार र धन्यवाद व्यक्त गर्न अमेरिकीहरूले यो चाड धूमधामले मनाउँदा रहेछन्। थ्याङ्कस गिभिङ पर्व अन्य नामले जर्मनी र एशियाको जापानमा पनि मनाइन्छ। अमेरिका र ब्रजीलमा नोभेम्बर महीनाको चौथो बिहीवार यो पर्व मनाइन्छ भने क्यानडामा अक्टोबर महीनाको दोस्रो सोमवार यो चाड मनाइन्छ। अमेरिकामा यो दिन टर्कीको मासु पोलेर खाने, पाकेको रातो फर्सी, आलु, घ्युसिमी र विभिन्न किसिमका फलफूल खाने, साथीभाइलाई खान बोलाउने चलन रहेछ। यो दिन नेपालमा तिहारमा झैं झिलीमिली बत्ती बाल्ने, नयाँ लुगा लगाउने, छिमेकी, इष्टमित्रलाई उपहार दिने र पाहुनाहरूलाई धन्यवाद ज्ञापन गरेर मनाइन्छ। यो दिन सबैले एकअर्कालाई धन्यवाद दिन्छन्, सफलताको शुभकामना दिन्छन्। यो दिन बिदा मनाउन, रमाइलो गर्न अधिकांश पसल बन्द गरिन्छ।ब्ल्याक फ्राइडे (कालो शुक्रवार)
थ्याङ्कस गिभिङ पर्वदेखि नै खासगरी अमेरिकामा अनौपचारिकरूपमा बिदाको मौसम शुरू हुन्छ। बिहीवार थ्याङ्कस गिभिङ डेमा भोजभतेर र रमाइलो गरेपछि भोलिपल्ट शुक्रवार बेस्सरी किनमेल गर्ने प्रचलन भएकोले यसलाई ब्ल्याक फ्राइडे भन्दा रहेछन्। व्यापारको लागि एकदमै फाइदाजनक नाफामूलक मानिने ब्ल्याक फ्राइडेमा अमेरिकामा ठूलो बिक्री हुने र मान्छेहरूलाई प्रोत्साहन गराउन भारी छुटमा सामान बिक्री गरिन्छ। अरू बेला एक सय डलर पर्ने सामान यो दिन १० डलरसम्ममा पाइन्छ। अधिकांश अमेरिकीहरूले यो दिन आफूलाई चाहिने वर्ष दिनको लुगाफाटो, इलेक्ट्रोनिक सामान आदि अन्धाधुन्ध किन्दा रहेछन्। अमेरिकी अर्थतन्त्रमा यो दिनको ठूलो महत्व पनि हुँदो रहेछ। विशेष डिस्काउन्टमा यस्ता सामान बेच्ने स्टोर र मलहरूमा बिहान ३ बजेदेखि नै क्रेताहरूको लाइन लाग्ने गर्दछ र स्टोर खुल्ने बित्तिकै हारालुछ गरेर सामान बेचबिखन हुन्छ। नोभेम्बर र डिसेम्बर महीनामा थुप्रै चाडपर्व पर्ने भएकाले र बिदा पाइने भएकोले यी महीनालाई यहाँ बिदाको मौसम भनिन्छ। यी महीनाहरूमा अमेरिकाका अधिकांश राज्यहरूमा अचाक्ली जाडो र हिमपात हुन्छ। बिदाको मजा लिन अधिकांश अमेरिकीहरू देश विदेश घुम्न जाँदा रहेछन्। अमेरिकामा क्रिसमस र नयाँ वर्षलाई अलि बेसी नै धुमधामले मनाइन्छ। एक महीनापछिको क्रिसमसको तयारीसमेत यहाँ धूमधामले भइरहेको देख्न थालिएको छ।ब्ल्याक फ्राइडेको एक दिन मात्र अमेरिकामा सन् २००३ मा ४ सयदेखि ४ सय बिलियन डलरको खरीदारी भएको थियो भने सन् २०१९ मा ७५ प्रतिशतले बढेर यो बिक्री सात सय तीस बिलियन डलरको भएको रहेछ। यसपालि सन् २०२० नोभेम्बर २७ को ब्ल्याक फ्राइडेका दिन एक हजार बिलियन डलरको व्यापार हुने अनुमान गरिए पनि कोरोनाले गर्दा व्यापारमा केही थपघट हुने अनुमान अमेरिकी सरकारले गरेको छ। यहाँ भर्खरै राष्ट्रपतिको निर्वाचन सकिएको, कोरोनाको डर कायमै रहेकोले सरकारले ब्ल्याक फ्राइडेलाई प्रभावकारी बनाउन र जनतालाई लोभ्याउन झन् बढी छुटको व्यवस्था गरेको छ।
सामान उत्पादन गर्ने उद्योगलाई करमा बम्पर छुट, सस्तोमा कच्चा पदार्थ उपलब्ध, ढुवानीमा सुविधा आदि इत्यादि सहुलियत दिएर सरकारले ब्ल्याक फ्राइडेको बिक्री बढाउने र क्रेतालाई आकर्षित गर्ने काम गरेको छ। ब्ल्याक फ्राइडेका दिन यहाँ आफ्ना नयाँ उत्पादन बजारमा ल्याउने होडबाजी गर्दछन् उद्योगहरूले र प्रचारका लागि सस्तो सामान उपलब्ध गराउँछन्। ब्ल्याक फ्राइडेको दिन छुटमा सामान पाइने मल र स्टोरहरूमा खुट्टा टेक्ने ठाउँ हुँदैन र यस्ता स्टोरहरू सामानले टनाटन भरिएको देखिन्छ। सबै स्टोर, मलहरूमा केही न केही छुटको व्यवस्था हुन्छ, मध्यम वर्गीय अमेरिकीहरू र विदेशबाट यहाँ रोजगारमा आएकाहरूले सस्तोमा सामान खरीद गर्न ब्ल्याक फ्राइडे कुरेर बस्छन् भने धनाढ्य अमेरिकीहरू ब्ल्याक फ्राइडेको हुलमुलमा खरीददारी गर्न रुचाउँदैनन्। ब्ल्याक फ्राइडे एक दिनको बिक्रीबाट हुने नाफा र घाटाको विवरण राख्न यहाँका व्यापारीहरूले कालो र रातो डायरी प्रयोग गर्ने प्रचलन छ। ब्ल्याक फ्राइडेमा व्यापार घाटा हुँदा रातो बहिखाता र नाफा कमाउने व्यापारीले कालो बहिखाता (डायरी) प्रयोग गर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here