सञ्जय साह मित्र
भनिन्छ, एकतामा बल हुन्छ। यसै एकतामा बल हुन्छ भन्ने कुरालाई व्यावहारिकरूपमा लागू गर्न सङ्गठनको अवधारणा ल्याइएको हो। यसै पनि कलियुगमा व्यक्तिभन्दा समूह वा सङ्गठन बलियो हुन्छ भन्ने कुरा हिन्दूशास्त्रहरूमा भनिएको धेरैले श्लोकसहितको उदाहरण दिएर भन्ने गर्छन्। हुन पनि हो, अहिलेको समयमा गाउँ, टोलदेखि बजारसम्मका मानिस कुनै न कुनै रूपमा सङ्गठन वा समूहमा आबद्ध देखिन्छन्। अझ राजनैतिक आबद्धताको कुरा हेर्ने हो भने नेपालजस्तो देशमा कमै मानिस यस्ता होलान् जसको कुनै अमुक राजनैतिक दल वा व्यक्तिप्रति प्रत्यक्ष वा परोक्ष प्रतिबद्धता नहोला। राजनैतिक सङ्गठनका उपसङ्गठनहरूमा पनि आबद्ध भएर आफ्नो आस्था प्रदर्शन गरिरहेका छन्। एउटा दलको समर्थकले अर्को दलको समर्थकलाई हेर्ने दृष्टिकोणमंै फरक पाइन्छ। यसले गर्दा राजनीति कहिलेकाहीं रूपमा देखा पर्दछ।
हाम्रो देशमा करीब तीन दशकदेखि मूलतः दुई राजनैतिक धार रहँदै आएको देखिन्छ। प्रजातान्त्रिक विचारधाराको प्रतिनिधित्व नेपाली कांग्रेसले र समाजवादी विचारधाराको प्रतिनिधित्व नेकपाले गर्दै आएका छन्। वर्तमान राजनैतिक प्रणालीलाई दुवै दलले स्वीकार गरेका छन् र यसै लोकतान्त्रिक व्यवस्थाबाटै आफ्नो वैचारिकता व्यवहारमा उतार्ने घोषणापत्र जारी गर्ने गरेका छन्। समय–समयमा अन्य राजनैतिक दलले थोरै फरक विचारसहितको उपस्थिति जनमानसमा दर्शाउने गरेका छन् तर मूल धारमा दुई ठूला दलमा यिनकै वर्चस्व रहने गरेको छ तथा देशमा यी दुई दलको इतिहास पनि लामो छ।
नेपालका अधिकांश ठूला दलको आन्तरिक अवस्था त्यति सहज छैन। सत्ता वा प्रतिपक्षमा रहेको दल र अन्य दललाई पनि विचार गर्ने हो भने हरेक दलमा आन्तरिक विवाद देखिन्छ। विवाद आन्तरिक भए पनि सधैं केही उच्च नेताका अभिव्यक्तिहरू एक अर्का नेताको भन्दा निकै फरक आउने गरेको र विवादका कुराहरू निरन्तर मिडियामा आउने गरेको देखिन्छ। राजनैतिक दृष्टिकोणले अध्ययन गर्ने हो भने यो शान्ति काल हो। अहिले देशमा खासै राजनैतिक द्वन्द्व छैन, तर अधिकांश ठूला दलमा आन्तरिक विवाद रहेको र यसले सर्वसाधारण नागरिकको ध्यान तानिरहेको यथार्थ हो। अहिले देशका हरेक दलमा मतान्तर, मतभेद तथा विवाद रहेको अवस्थामा हाम्रो अनन्य छिमेकी देश भारतमा हेर्ने हो भने त्यहाँ धेरै प्रदेश तथा केन्द्र र मुख्य गरी ठूला राजनैतिक पार्टीहरूमा पनि खासै विवाद देखिएको छैन। दलका आन्तरिक विवाद यसरी निरन्तर आइरहेको देखिन्न, सुनिन्न तर हामीकहाँ भने विवादको शृङ्खलाले निरन्तरता पाइरहँदा छिमेकमा रहेका दल मात्र होइन सरकारमा पनि कुनै विवाद नरहेको चर्चा चल्ने गर्दछ।
हालै केही हप्ता पहिले भारतको बिहार प्रान्तमा सम्पन्न चुनावलाई विचार गर्ने हो भने त्यहाँ कुनै एक दलले चुनाव लडेकोभन्दा विभिन्न दलहरूको गठबन्धन बनाएर चुनाव लडेको देखिन्छ। चुनावमा मुख्य गरी दुई गठबन्धनको टक्कर थियो र दुई गठबन्धनबीच भएको चुनावमा पहिलेदेखि नै सत्तामा रहेको गठबन्धनले चुनाव जितेको हो। चुनावको नतीजा विश्लेषण गर्दा स्पष्ट देखिन्छ कि गठबन्धनको ठूलो पार्टीले पहिले गरेको कबुल अनुसार आफूभन्दा करीब आधा ठूलो पार्टीलाई नै सरकारको नेतृत्व गर्ने अवसर दिएको छ। गठबन्धन सरकारको संस्कारमा यस्तो उदाहरण हुन सक्छ। अहिले जुन गठबन्धनको सरकार छ, त्यसमा करीब आधा दर्जन दल छन्। चुनावको समयमा विवाद भएन, सरकार गठनमा पनि विवाद भएन। प्रतिपक्षी गठबन्धनलाई पनि हेर्ने हो भने चुनावमा विवाद भएन। चुनावको जित वा हारमा गठबन्धनमा रहेका दलप्रति एक दलले अर्को दलमाथि गम्भीर आरोप लगाएको पनि पाइएन र गठबन्धनबाट तत्काल बाहिर निस्किहाल्ने किसिमको प्रतिक्रिया पनि कुनै ठूलो पार्टीले दिएको सुनिएन। हामीकहाँ एउटै दलमा विवाद, मतभेद र मतान्तर भइरहन्छ, त्यहाँ अनेक दलको गठबन्धनमा यस्तो व्यवहार नदेखिनु आश्चर्य लाग्छ।
भारतको अन्य केही प्रान्तमा पनि गठबन्धनकै सरकार छ। एक दलले अर्को दलप्रति विश्वास गर्ने र कुनै दलका ठूला नेताले अर्को दलको ठूला नेतासित गर्ने गठबन्धनको व्यवहार क्षणिक किसिमको नहुने देखिएको छ। यसले आम नागरिक र चुनावको समयमा मतदातालाई पनि केही हदसम्म कुन दल वा कुन गठबन्धनका कुन नेतालाई किन विश्वास गर्ने भन्ने विषयमा गोप्य अभिमत दिन सहयोग गर्दछ। वास्तवमा राजनीतिमा एकापसमा विश्वासको पनि आवश्यकता पर्दछ र एकापसमा सहयोगको पनि खाँचो रहन्छ। विश्वास र सहयोगले पार्टीको आन्तरिक जीवन र गठबन्धन दुवैतिर सकारात्मक प्रभाव परेको देखिन्छ।
अझ भारतको केन्द्रमैं रहेको शासन नै हेरौं न १ लाग्छ एकल भारतीय जनता पार्टी (बिजेपी)को सरकार हो। बिजेपीको एकलौटी शासन छजस्तो लाग्न सक्छ तर गत आम निर्वाचनमा बिजेपीले धेरै दलहरूसित मिलेर चुनाव लडेको थियो र गठबन्धनको सम्मान गर्दै सरकार गठन गरेको थियो। अहिले पनि बिजेपीको नेतृत्वमा गठबन्धनको सरकार छ। बिजेपीमा खासै किचलो रहेको मिडियाहरूमा आएको देखिंदैन र सरकारमा रहेका गठबन्धनका दलहरूबीच पनि किचलो रहेको सार्वजनिक हुँदैन। सरकारको नेतृत्व बिजेपीले गरेको छ र बिजेपीको नेतृत्वलाई गठबन्धनका अन्य दलले सहर्ष स्वीकार गरेका छन्।
भारतमा केन्द्रीय संसद्लाई लोकसभा भनिन्छ। भारतीय लोकसभाको वर्तमान स्वरूप हेर्ने हो भने करीब तीन दर्जन दलको उपस्थिति छ। सबैभन्दा ठूलो भारतीय जनता पार्टी हो जसको तीन सय दुई सांसद छन्। यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका एकाउन्न, द्रविड मुनेत्र कषगमका चौबीस, अखिल भारतीय तृणमूल कांग्रेसका बाइस, युवाजन श्रमिक रायथु कांग्रेस पार्टीका एक्काइस, शिव सेनाका अठार, जनता दल युनाइटेडका सो–ह, बीजु जनता दलका बाह्र, बहुजन समाज पार्टीका दश, तेलंगना राष्ट्र समितिका नौ, लोक जनशक्ति पार्टीका छ, राष्ट्रवादी कांग्रेस पार्टी र समाजवादी पार्टीका पाँच–पाँच, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का तीन, जम्मु–कश्मीर नेशनल कन्फ्रेस, तेलुगू देशम पार्टी र इन्डियन युनियन मुस्लिम लिगका पनि तीन–तीन, अपना दल, अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन, भारतीय कम्युनिस्ट पार्टी र शिरोमणि अकाली दलका दुई–दुई सांसद रहेका छन्। भारतीय लोकसभामा बिदुथलाई चिरूथाइगल काची, राष्ट्रिय लोकतान्त्रिक पार्टी, रिभोल्युशनरी सोसलिस्ट पार्टी, मिजो नेशनल फ्रन्ट, नागाल्यान्ड पिपुल्स फ्रन्ट, जनता दल सेक्युलर, झारखन्ड मुक्ति मोर्चा, आम आदमी पार्टी, अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट, एजेएसयु पार्टी, नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी, नेशनल पिपुल्स पार्टी, सिक्किम क्रान्तिकारी मोर्चा र केरल काङ्ग्रेस (एम) का एक–एक जना सांसद रहेका छन्। त्यहाँको लोकसभामा चारजना निर्दलीय वा स्वतन्त्र सांसद पनि छन्।
अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको छ। गठबन्धनको दृष्टिकोणले एनडिए (राष्ट्रिय जनतान्त्रिक अलाएन्स) को सरकार हो। हुन त केन्द्रीय सरकार गठन हुँदाको समयदेखि अहिलेसम्मको अवस्थामा केही परिवर्तन भने भएको छ। गत वर्ष शिव सेना र भाजपाबीच भएको विवादको कारण शिव सेनाका एकजना मन्त्रीले राजीनामा दिएका थिए मोदी मन्त्रिपरिषद्बाट। यसैगरी अकाली दलका मन्त्रीले पनि राजीनामा दिएका थिए। लोक जनशक्ति पार्टीका राम विलास पासवानको मृत्यु भएपछि लोजपाबाट अन्य कोही मन्त्री छैन। यसकारण वर्तमान अवस्थामा एनडिएका सहयोगी दलमध्ये एकजना मात्र केन्द्र सरकारमा मन्त्री छन्। बिहारमा बिजेपीसित गठबन्धनमा रहेको नीतीशकुमारको जनता दल युनाइटेडसित केन्द्रमा भने सम्झौता रहेको पाइँदैन। यसले के स्पष्ट हुन्छ भने केन्द्रको एनडिएमा नरहे पनि प्रान्तस्तरमा दुवै दलको बलियो गठबन्धन छ र गठबन्धनको धर्मलाई दुवै दलले निर्वाह गरेका छन्।
संविधान र राजनैतिक विचारधारा मिल्ने तथा वर्तमान परिस्थितिलाई विश्लेषण गर्ने आधारहरू पनि मिल्ने भएपछि दुई वा दुईभन्दा बढी दलबीच कार्यगत एकता तथा मोर्चा वा गठबन्धन हुनु स्वाभाविक प्रजातान्त्रिक गति हो। प्रायः जसो प्रान्तमा त्यहाँका स्थानीय दलको बलियो पकड हुने र दलसित केन्द्रका दलहरूले गठबन्धन गरेर राजनैतिक सहमति, संवाद र सहयात्राको संस्कारमा सरकार नै गठन गरी सञ्चालन गरेका सुन्दर उदाहरणहरू भारतमा छन्। भारतको लोकतन्त्रलाई यस मानेमा पनि परिपक्व भएको मान्न सकिन्छ।