प्रस, महोत्तरी, ९ मङ्सिर/
महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा मङ्गलवार भएको प्रदर्शनको क्रममा प्रहरी नायब उपरीक्षकसहित चारजना घाइते भएका छन्। प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी र प्रदर्शनकारीको आक्रमणमा परी एकजना प्रहरी नायब उपरीक्षक घाइते भएको प्रहरीले जनाएको छ।
गोली लागेर बर्दिबास नगरपालिका–१ का आफताब आलम, सञ्जय न्यौपाने, र श्याम कार्की घाइते भएका छन्। प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट घाइते भएको जिप्रकाले जनाएको छ। घाइतेमध्ये कार्की र न्यौपानेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको बर्दिवासस्थित पिनाक अस्पतालमा उपचार भइरहेको छ। प्रनाउ थापाको भने टाउको र हातमा चोट लागेको छ।
आक्रोशित स्थानीयले बालिकाको शव सडकमा राखेर प्रदर्शन गरिरहेको बेला प्रहरीले बल प्रयोग गरी शव नियन्त्रणमा लिएको थियो। आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जिप्रकाको भनाइ छ। हत्याको आरोपी गौशाला नगरपालिका वडा नं ५ का २५ वर्षीय अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ। आक्रोशित स्थानीयले हत्या आरोपी साहको घरमा आगजनीसमेत गरेका छन्।
पक्राउ परेका साहले प्रहरीको प्रारम्भिक सोधपूछमैं बालिकाको हत्या गरेको स्वीकारेका छन्। बालिकाको शव सामुदायिक परिवार कल्याण सङ्घ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टि पर्ने विनोद साहको खाली जग्गामा बोरामा कोचेको अवस्थामा फेला परेको थियो।
स्थानीय शहीद आलमकी छोरी ६ वर्षीया छोरी गुलाब साह खातुन आइतवार साँझदेखि बस्तीबाट हराएकी थिइन्। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमवार मध्यरातमा बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
मङ्गलवार बिहानैदेखि प्रदर्शनकारीहरूले अवरुद्ध गरेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको हो।
प्रहरीले भीडलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायरसमेत गरेको थियो।
हत्या आरोपी साहको पसलमा चकलेट किन्न गएकी बालिकालाई मदिराको नशामा हत्या गरेको कुरा अभियुक्त साहले स्वीकारेका छन्। बालिकाको बलात्कारपछि हत्या गरिएको स्थानीयको आरोप छ। बालिकाको शवको शल्यपरीक्षण रिपोर्ट आएपछि मात्रै यकीन हुने प्रहरीको भनाइ छ।