प्रस, वीरगंज, ८ मङ्सिर/
कालिकामाई गाउँपालिकाले विपत् व्यवस्थापनको लागि छुटयाएको रकममध्ये रु २३ लाख ४० हजार कर्मचारी तथा निर्वाचित पदाधिकारीहरूले बाँडफाँट गरेको समाचार छ।
तिहारको एक दिनअघि स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौरसियाको नाममा चेक काटी गैरजिम्मेवारी तरीकाले रकम बाँडफाँट गरेको कारण भाग नपाएका कर्मचारी तथा जनप्रतिनिधिहरूले विरोध गर्न थालेका छन्।
नियमविपरीत व्यक्तिको नाममा रकम निकासा गरी रकम बाँडफाँट गरी खाने कर्मचारी तथा वडाध्यक्षहरूले अहिले आफ्नो बचाउका लागि विरोध गर्ने कर्मचारी तथा सदस्यहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्दैछन्।
कर्मचारी स्रोतका अनुसार विपत्को रकम भत्ताको नाममा खानु गलत हो। यस विषयमा आफ्नो नाममा रकम निकाल्न सफल भएका स्वास्थ्य प्रमुख चौरसियासँग बुझ्दा वडाध्यक्ष ५ जना, अध्यक्ष तथा उपाध्यक्ष गरी बैठक तथा अनुगमन भत्ताबापत रु ७ लाख १७ हजार ९४८, कर्मचारी जोखिम भत्ताबापत ४ लाख ६३ हजार ५२९, भिटिएम खरीदबापत रु २ लाख ७६ हजार, कोरोनाको औषधि खरीदबापत रु ६ लाख ५१ हजार, एम्बुलेन्स खर्चबापत रु ७६ हजार रकम वितरण गरिएको बताए।
यस विषयमा गापा अध्यक्ष नथुनीप्रसाद कुशवाहाले स्वास्थ्य प्रमुख चौरसियाको नाममा रकम निकासा गरिएको बताए। उनले भने– “के मिल्छ–मिल्दैन हेर्ने कर्मचारीहरूको काम हो। बोर्ड बैठकले निर्णय गरेको छ।” रकम अहिलेसम्म आफूले नपाएको उनले बताए।
प्रमुख कार्यकारी अधिकृत जयचन्द्र साहले बोर्ड बैैठकको निर्णय अनुसार रकम निकासा गरेको बताए। उनले भदौ र असोजको ६१ दिनको कोरोनाकालमा काम गरेका कर्मचारी तथा वडाध्यक्षहरूलाई रकम वितरण गरिएको जानकारी दिए।
तर अन्य कर्मचारीहरूले भने रकम निकासा प्रकिया नै गलत भएको बताउँदै औषधि खरीद नगरी नक्कली बिल बनाएको आरोप लगाएका छन्।