प्रस, पंचगावाँ, ८ मङ्सिर/
सखुवाप्रसौनी गाउँपालिकामा एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ। सखुवाप्रसौनी गापा–२ दहीनादी र पुरैना खोलाको बीचमा ३० वर्षीय सन्तोष यादवको शङ्कास्पद अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले तत्काल मृतक यादवका पिता जवाहिर यादवलाई पक्राउ गरेको छ। जवाहिर यादवले दोस्रो विवाह गरेका र सन्तोषलाई सौतेनी आमा र सौतेला भाइहरूले यातना दिने गरेको स्थानीयले बताएका छन्। यातनाको कारण सन्तोष मानसिक रोगीझैं भएको बताइएको छ। सम्पत्तिमा अंश दिनु नपरोस् भनेर परिवारले दिएको यातनाको कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पर्सा प्रहरीका प्रवक्ता मनोजीत कुँवरले घटना सम्बन्धमा अनुसन्धान भइरहेको र शवको शल्यपरीक्षण रिपोर्टपछि तथ्य खुल्ने बताए।