आगलागीमा ८ जनाको घर जलेर नष्ट

0

प्रस, रौतहट, ८ मङ्सिर/
देवाही गोनाही र बौधीमाई नगरपालिकामा आगलागी हुँदा लाखौं मूल्यको क्षति भएको छ।
देवाही गोनाही नपा–७ दलितबस्तीमा आगलागी हुँदा सातजना दलितको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सर्टसर्किट भएर आगलागी भएको र सो आगलागीबाट जागृत राम, कृतराम राम, प्रवेश राम, सर्फलाल राम, प्रमोद महतोलगायत ७ जनाको घर नष्ट हुँदा रु १३ लाखबराबरको क्षति भएको अनुमान छ।
इलाका प्रहरी कार्यालय गोनाहीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएको छ। आगलागी पीडितलाई देवाही गोनाहीकी उपप्रमुख परनियादेवी पटेल र नेकपा नगर कमिटीले राहत सहयोग गरेको छ। पीडित परिवारलाई १२ बोरा चामल, ६ थान कम्बल, ६ थान त्रिपाल, ६ सेट भाँडा, साडी, लुङ्गी, गन्जी, गम्छा, झुल, तन्ना वितरण गरिएको थियो।
यसैगरी, बौधीमाई नगरपालिका–५ दलितबस्तीमा आगलागी हुँदा जयमङ्गल गुप्ताको घर जलेर नष्ट भएको छ। आगलागीमा १४ लाख मूल्यबराबरको धनमाल क्षति भएको पीडितले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here