प्रस, गरुडा, ४ मङ्सिर/
कृषि उत्पादन वृद्धि गर्न पालिकाको नीतिलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न कटहरिया नगरपालिकाले किसानलाई निश्शुल्क बिजुली उपलब्ध गराउने भएको छ। कृषि उपजमा नगरपालिकालाई निर्यातयोग्य बनाउन तथा कृषिको माध्यमले समृद्धि ल्याउन कृषक बिजुली मिटर र कृषि मिटरको सम्पूर्ण विद्युत् महसूल तिर्ने नगर प्रमुख सियाराम कुशवाहाले जानकारी गराएका छन्।
कटहरियामा उत्पादन गरिने फलफूलको बिरुवा देशभरि पुग्ने गरेको छ। यसैगरी तरकारी खेतीमा पनि कटहरिया नगरपालिकाको पहिचान बनिसकेको छ। तरकारी तथा फलफूलको बिरूवा उत्पादनका साथै अन्य कृषि उत्पादनमा कटहरियाले उल्लेख्य प्रगति गर्ने सम्भावना रहेकोले किसानलाई प्रत्यक्ष सहयोग गर्ने नीति अवलम्बन गरिएको प्रमुख कुशवाहाको भनाइ छ।
कृषि मिटर जडानका लागि नपाले ८ लाख रुपियाँ विनियोजन गरेको छ। यसैगरी कृषि मिटरको विद्युत् महसुल तिर्न नपाले ४५ लाख रुपियाँ विनियोजन गरेको छ। अब २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न परिवारको महसुल पनि नगरपालिकाले नै तिर्ने प्रमुख कुशवाहाको भनाइ छ।
विपन्न समुदाय तथा किसानसित भएको अन्तक्र्रियामा नगरपालिकाले अपेक्षित सम्बोधन महसूस गरेको छ। किसानले निर्धक्क भएर खेती गर्नुपर्ने र आवश्यकता अनुसार नपाले सहयोग गरिरहने मेयर कुशवाहाको भनाइ छ।
यसैगरी नपा क्षेत्रभित्रका गर्भवती महिलालाई सुत्केरी हुने बेला निश्शुल्क एम्बुलेन्स सेवा दिने भनिएको छ। सुरक्षित मातृत्व तथा नवजात शिशुको उपयुक्त रेखदेख हुने र रकमको अभावमा घरमैं सुत्केरी गराइने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रसम्म नगरपालिकाको जुनसुकै कुनाबाट चौबीसै घण्टा एम्बुलेन्स सेवा निश्शुल्क उपलब्ध गराइएको छ।