छठमा गोबर र दूधको पनि अभाव

0

प्रस, सेढवा ४ मङ्सिर/
छठ पर्वको आज खरनाको दिन पर्साको ग्रामीण भेगमा गाईभैंसीको दूध र गोबरको पनि अभाव भएको छ।
खरनाको दिन पूजाका लागि आवश्यक प्रसाद बनाउन तथा दूध चढाउनुपर्छ। यस क्षेत्रमा गाईवस्तु पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको र छठ व्रतालुहरूको सङ्ख्या बढ्दै गएपछि दूधको अभाव हुन थालेको हो।
जीराभवानी गाउँपालिका–२ वसन्तपुरका ९० प्रतिशत किसानले भैंसीपालन गरी दूध उत्पादन गर्छन्। तर पनि माग अनुसार दूध आपूर्ति हुन  नसकेको किसान रूपनारायण चौधरीले बताए। जीराभवानी गाउँपालिका–१ निवासी अर्जुन चौधरीले गाउँघरमा दूध नपाउँदा ठोरी गाउँपालिका–४ विजयबस्तीमा रहेका साइनो दूग्ध उत्पादक सहकारी संस्थामा पुगेको र तीन घण्टा कुरेर दूध पाएको बताए।
साइनो दूग्ध उत्पादक सहकारी संस्था विजयबस्तीका सञ्चालक खड्गबहादुर श्रेष्ठले तीन सय लिटर दूध चिस्यान केन्द्रमा राखेको तर बिहान एक घण्टामैं दूध बिक्री भएको बताए।
माग अनुसार दूध आपूर्ति गर्न ठोरी गाउँपालिका–३ बह्मानगरको चिस्यान केन्द्रमा राखिएको ५ सय लिटर दूध ल्याउन ढिला भएका कारण उपभोक्तालाई केही समस्या भएको उनले बताए।
त्यस्तै तिहार र छठ पर्वका लागि घरआँगन पटक–पटक लिपपोत गर्नुपर्ने भएकाले गोबरको समेत अभाव देखिएको थियो। गृहिणीहरूको गोठमा राति ३ बजेदेखि नै गोबर सङ्कलन गर्नेहरूको भीड देखिन्थ्यो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here