संवेदनशील भएर छठ मनाऔं

0

तराईको महान् पर्व मानिएको छठ अहिले नेपालीको महान् पर्व बनेको छ। पछिल्ला वर्षहरूमा यो पर्व देशभर मनाइन थालेको छ। तराईमा बसोवास गर्नेहरू देशका विभिन्न स्थानमा गएर अहिले छठपूजा गर्न थालेका छन्। राजधानीको रानीपोखरीबाट मनाउन शुरू भएको छठ अहिले त्यहाँ विभिन्न स्थानमा धुमधामका साथ मनाउन थालिएको छ। कोरोना भाइरसका कारण यस वर्ष राजधानीलगायत देशभर छठपूजा घरमा केन्द्रित रहेर मनाउनका लागि सङ्घ, प्रदेश सरकारले आग्रह गर्दै आएपनि तराईका जिल्लामा छठपूजा पहिलेको जस्तो धुमधामका साथ सजावट गरेर पोखरी, नदी, तलाउहरूमा मनाउने तयारी नभएपनि साधारण तरीकाबाट मनाउने तयारी भइरहेको छ। तराईका जिल्लामा स्थानीय तहले सङ्घ र प्रदेश सरकारको निर्देशन अनुसार व्रतालुहरूलाई छठघाटमा नगएर घरमा पूजा गर्न आग्रह गर्न सकेका छैनन्। यसो गर्न नसक्नुको कारण छठपूजा गर्नेहरूको सङ्ख्या ठूलो हुनु हो। अनि स्वयं स्थानिय तहका प्रतिनिधिहरूको घरमा पनि यो पूजा महत्वका साथ मनाइनु पनि हो। यही कारणले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी व्रतालु अनि परिवारका थोरै मानिसहरूको सहभागितामा पूजा गर्न आग्रह गर्दै आएका छन् यहाँका स्थानीय तह।
चार दिनसम्म मनाइने यस पर्वको आफ्नै महत्व र महिमा छ। धार्मिकरूपमा छठ पर्वलाई कडा व्रत, त्याग र समर्पणको पर्वको रूपमा लिइन्छ। वैज्ञानिकरूपमा पनि यसले विशिष्टता बोकेको छ। तर योसँगै अहिले विश्वव्यापीरूपमा बढेको कोरोना सङ्क्रमणको पनि बेवास्ता गर्न मिल्दैन। धार्मिक आस्थालाई जीवित राख्दै स्वास्थ्य समस्या नआओस् भन्नेतर्फ सचेत हुनु त्यत्तिकै आवश्यक छ। कोरोनाको कहर बढेको बेला नेपालीहरूका महान् चाडहरू प्रभावित भए। धार्मिक हिसाबले हिन्दू मात्र होइन मुस्लिम धर्मावलम्बीहरूको पर्व कोरोनाको कारण प्रभावित भयो। वैशाखमा नयाँ वर्ष मनाइएन, तीज, जन्माष्टमी, दशै अनि तिहार पनि प्रभावित रह्यो। मुस्लिमहरूले पनि सोबरात, इद, बकरिद हर्षोल्लासका साथ साथीभाई, इष्टमित्र भेला गरी मस्जिदमा नमाज पढेर मनाउन पाएनन्। अहिले पनि कोरोनाको कारण नेपालका मन्दिर, मस्जिद र चर्चहरू बन्द छन्। बिस्तारै कोरोनाको कहर कम हुँदै गएपछि सात महीना लामो अन्तरालमा लकडाउन खुलेको छ। लकडाउनका साथै कतिपय स्थानमा निषेधाज्ञा जारी गर्नुपरेकोे थियो। घरबाट बाहिर निस्कन नपाइने अवस्थामा अहिले लकडाउन, निषेधाज्ञा हट्यो भन्दैमा निर्भय भइहाल्ने र समाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने अनि तोकिएको स्वास्थ्य मापदण्ड पूरा नगर्ने हो भने अहिले राजधानीमा उत्पाद किसिमले बढेको कोरोना तराईका जिल्लाहरूमा पनि नबढ्ला भन्न सकिन्न।
अहिले हामीकहाँ कोरोना परीक्षणको दायरा घटाइएको छ। कन्ट्याक्ट ट्रेसिङ, मास टे«सिङ बन्द छ। लक्षण भएको अथवा परीक्षण नगरेर काम नहुने अनिवार्य भएकाहरूले मात्र परीक्षण गराउँदै आएकाले दुई नम्बर प्रदेशमा कोरोनाको कहर नदेखिएको हो। हैन भने देशमा कोरोनाको बीउ छर्ने काम यसै प्रदेशबाट भएको बिर्सनुहुन्न। तसर्थ धार्मिक आस्थाको महत्वपूर्ण पर्व मनाऔं तर तोकिएको स्वास्थ्य मापदण्ड पूरा  गन लापरवाह पनि नबनौं। लापरवाहीले आफूलाई त क्षति हुन्छ नै, अरूलाई पनि त्यत्तिकै क्षति हुन सक्छ। जुनसुकै पनि चाडपर्व धार्मिक आस्थाले मात्र होइन, त्यसको अभ्यन्तरमा स्वास्थ्य सजगता पनि लुकेको हुन्छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here