प्रस, वीरगंज, ३ मङ्सिर/
पकाहामैनपुर गाउँपालिकाले गापामा रहेका दलित समुदायका बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ।
दलित परिवारका बालबालिकाहरूको विद्यालयमा पहुँच सहज बनाउन र अध्ययनप्रति अभिरुचि जगाउन पोशाक र शैक्षिक सामग्री वितरण गरिएको गापा अध्यक्ष विजय चौरसियाले बताए।
अध्यक्ष चौरसियाले आर्थिकरूपमा विपन्न दलित परिवारलाई दैनिक खानको लागि पनि समस्या भइरहेको हुँदा उनीहरूको बालबालिका पोशाक, शैक्षिक सामग्रीबाट वञ्चित हुने गरेका र शिक्षामा उनीहरूको पहुँच कमजोर भएकोले गापाले सहयोग गरेको बताए। उनले आफ्नो कार्यकालमा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बनाउने हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे।
प्रत्येक वर्षझैं यस वर्ष पनि गरीब, दलित र जेहेन्दार विद्यार्थीहरूको अध्ययनमा गापाले सहयोग गर्ने बताए।
पकाहामैनपुर गापा अन्तर्गत धोरे, पकाहामैनपुर, खेस्राहालगायतका दलित, मुसहर बस्तीका ११० जना बालबालिकालाई स्कूल ब्याग, पेन्सिल, कापी ६/६ थान, दुई/दुई सेट जुत्ता/मोजा वितरण गरिएको थियो। कार्यक्रममा सहभागी दलित मदन माझीले खान, लाउन समस्या भएको आफ्नो समुदायलाई लक्षित गरेर गापाले बालबालिकाहरूलाई अध्ययनको लागि गरेको सहयोगको सराहना गरे।
गापाहरू विकासको नाममा सडक, नाला, बिजुलीबत्तीको मरम्मत सम्भारमा अग्रसर भए पनि पछि परेको समुदायलाई सहयोग नगरेको अवस्थामा पकाहामैनपुर गापाले दलित मुसहर लक्षित शैक्षिक कार्यक्रममा अग्रसरता देखाएकोमा उनले खुशी व्यक्त गरे।
यसैगरी खेस्राहाकी मुसहर बस्तीकी अनिया माझीले छोराछोरीको पढाइमा गापाको सहयोगको प्रशंसा गरिन्। पिछडिएको समुदायलाई शिक्षा प्रदान गर्न अभिप्रेरित गर्नु असल काम भएको उनले प्रतिक्रिया दिइन्। कार्यक्रममा वडाध्यक्ष मदन साह कानू, ढेडीप्रसाद यादव, सञ्चारकर्मी बिन्दुभूषण साहलगायतको सहभागिता थियो।