बज्जिका खण्डकाव्य ‘सुमरी’ लोकार्पित

0

प्रस, गरुडा, ३ मङ्सिर/
बज्जिका भाषामा सञ्जय सुदामाद्वारा लिखित सुमरी खण्डकाव्यको एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। सर्लाहीको बलरा बजारस्थित माध्यमिक विद्यालयमा चर्चित पत्रकार चन्द्रकिशोर झाको अध्यक्षतामा भएको कार्यक्रममा डा. कमलेश्वरकुमार सिन्हा, साहित्यकार सञ्जय मित्र, रामनगर गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामपवित्र साह, साहित्यकार रामचन्द्र महतो कुशवाहा, खण्डकाव्यकार सुदामासमेतले संयुक्तरूपमा लोकार्पण गरेका हुन्।
लोकार्पित खण्डकाव्यले समाजलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि डा. सिन्हाले बज्जिका समाजको विकृति कम गर्न कृतिले महत्वपूर्ण योगदान दिने बताएका छन्। साहित्यकार मित्रले बज्जिका भाषाको सेवामा निरन्तर जुटेका खण्डकाव्यकार सुदामाले आफ्नो क्षमताको भरमा नेपाल र भारतमा आफ्नो पहिचान कायम गर्न सफल भएको बताउँदै कृतिको सफलताको शुभकामना व्यक्त गरेका छन्।
सर्लाही र रौतहटका साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल यादव श्रीकृष्ण, बज्जिका साहित्य समाजका रूपेश पटेल, भोजपुरी साहित्य समाज वीरगंजका वीरेन्द्र साह, केदार यादव, मोहनकुमार सिंह, चन्द्रशेखर रस्तोगी, उमेश वर्मालगायत सर्जकहरूले काव्य तथा मन्तव्य व्यक्त गरेका छन्।
बज्जिकार्पण साहित्यिक पत्रिकाका कार्यकारी सम्पादकसमेत रहेका खण्डकाव्यकार सुदामाको यस अघि ‘छाँही’ र शान्तिदूत गरी दुई खण्डकाव्य बज्जिका भाषामा प्रकाशित छन्। नवप्रकाशित सुमरी खण्डकाव्य दोहा छन्दमा लेखिएको छ। सर्लाहीको बलरा नगरपालिकाको सुदामा गाउँका स्थायी बासिन्दा सुदामा पेशाले शिक्षक हुन्। सुदामाको नेपाली भाषामा पनि विभिन्न विधाका रचनाहरू प्रकाशित छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here