प्रस, पोखरिया, २ मङ्सिर/
कोरोनाको कारण यसपटक चाडपर्व घरमा मनाउन आग्रह गर्दै आएको सरकारको निर्देशन अनुरूप जिल्ला प्रशासन कार्यालय पर्सा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आग्रहविपरीत स्थानीय पालिकाले छठघाट सजावटका लागि बजेट विनियोजन भए अनुरूप सहयोग गरेका छन्।
कोरोनाको कारण अहिलेसम्म आधिकारिकरूपमा बन्द मन्दिर, मस्जिद, चर्चहरू खोलिएका छैनन्। दशैं, दीपावली पनि सोही अनुरूप मनाइयो तर छठपूजा भने सार्वजनिकस्थलमा मनाउने तयारी भएको पाइएको छ। वीरगंज महानगरपालिका अन्तर्गत वडाहरूले आआफ्नो छठघाटहरूमा सजावटका लागि सहयोग गरेका छन्।
नगरप्रमुख विजयकुमार सरावगीले छठघाटको लागि वडापालिकाहरूले बजेटमा छुट्याएको आपत्कालीन कोषबाट खर्च भइरहेको बताए। महानगरपालिकाले दुई वर्षदेखि वडापालिकामार्फत छठपूजाको लागि खर्च उपलब्ध गराउँदै आएको उनले बताए। वडाध्यक्ष तूफान अन्सारीले आपत्कालीन बजेट एकलाख विनियोजन गरेको र सबै धर्मका लागि सोही कोषबाट सहयोग गर्दै आएको बताए।
महानगरपालिकाको घडिअर्वा, रानीघाट, छपकैया, मुर्ली, नगवा आदि पोखरीमा धुमधामका साथ छठपूजा हुँदै आएको थियो। भव्य सजावटबाट पूजा हुने गरेकोमा अहिले कुनै पनि पोखरीमा सजावटको काम भएको पाइएको छैन। तर पोखरीको सरसफाइजस्तो काम भएको समाचारले स्थानीय व्रतालुहरू पोखरीमा नै गएर छठपूजा गर्ने तयारीमा रहेको आभास भएको छ।
वीरगंज महानगरको अवस्था यस्तो छ भने पर्साको ग्रामीण क्षेत्रहरूमा छठघाटमैं गएर पूजा गर्ने तयारी भएको छ। नदी, तलाउ, पोखरीहरूमा पण्डाल बनाउनका लागि कतिपय स्थानमा बाँस गाडिएको छ। पहिलेझैं भव्य तयारी नभएपनि बाँस गाडेर सामान्य पाल टाँगी छठपूजा गर्ने तयारी भएको छ र यसका लागि नगरपालिका, गाउँपालिकाहरूले आर्थिक सहयोग गरेका छन्।
पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले धार्मिक काममा रोक लगाउन नसकिने बताए। उनले ठूलो सङ्ख्यामा छठपूजा गर्नेहरू भएकाले अहिलेको महामारीमा सामाजिक दूरी बनाएर स्वास्थ्य मापदण्डको अवलम्बन गरेर पूजा गर्न बडापालिकामार्फत पनि सचेत गरिएको बताए। उनले नगरपालिकाले घाटमा पूजाको तयारीका लागि सबै वडामा रु २५ हजार सहयोग गरेको बताए।
कालिकामाईमा गाउँपालिकाले २ लाख बजेट विनियोजन गरेको छ भने धोबिनी गाउँपालिकाले वडापिच्छे रु ४० हजार बजेट दिएको छ। पकहामैनपुरले भने यस वर्ष छठघाटको लागि सहयोग रकम विनियोजन नगरेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here