प्रस, रौतहट, २ मङ्सिर/
प्रदेश नं २ का भूमिसुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादवले नौ पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीलाई गाउँदेखि केन्द्रसम्म मिलाउन प्रयास भइरहेको बताएका छन्।
नेपालीहरूको महान् पर्व दिपावली तथा लोक आस्थाको महापर्व छठको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले पार्टीमा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ता रहे पनि, सबै मधेस मुद्दामा केन्द्रित रहेकाले मिलन भएको र यसमा केही समय लाग्ने बताए।
अन्य जिल्लाको अपेक्षा रौतहटमा मिल्न नसकेका नेता–कार्यकर्ताहरूलाई प्रेस नेपाल तथा प्रेस मञ्चले मिली शुभकामना आदानप्रदानको कार्यक्रम राखेको हुनाले अति सराहनीय कार्य भएको मन्त्री यादवले बताए।
पत्रकारिता पेशालाई अझ मर्यादित बनाउन आचारसंहिता बनाउन मञ्च र नेपाललाई आग्रह गर्दै केही उच्छृङ्खल व्यक्तिहरूले फेसबूकमा पत्रकारितालाई बदनाम गराउन लागेकोले त्यस्ता व्यक्तिलाई कारबाई गर्नुपर्ने धारणा राखेका थिए।
बितेको बडादशैं, दीपावली तथा आउने छठ पर्वको शुभकामना दिंदै उनले एकजुट भएर अगाडि बढ्न कार्यकर्ता तथा नेताहरूसँग आग्रह गरे।
सोही अवसरमा प्रदेश सभासदस्य रामकिशोर यादवले नेपाल सरकारले सीमा बन्द गरेर मधेसी सामुदायप्रति अन्याय गरेको बताए। बडादशैं, दीपावली तथा छठपर्वमा रौतहटका बजारहरूमा महँगीले सीमा नाघेकोले भारतीय सीमा खोल्नुपर्ने धारणा राखेका थिए।
सीमा खोलाउन धर्ना बस्दा नेपाल सरकारले मङ्सिर ३० गतेसम्म नाका बन्द रहने निर्णय गरेकोमा उनले दुःख व्यक्त गरे। सो कार्यक्रममा पूर्व सांसद बबन सिंह, जिल्ला समन्वय समितिका उपाध्यक्ष रामवशिष्ठ राय यादव, जसपाका केन्द्रीय सदस्य बृजकिशोर, नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति रवीन्द्र शाह, श्यामबिहारी यादव, प्रकाश भाइलगायत वक्ताहरूले शुभकामनासहित आआफ्नो धारणा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here