प्रस, पोखरिया, २ मङ्सिर/
पोखरिया नगरपालिका–१० शिवबर्वामा सडक मरम्मतको विषयलाई लिएर नेकपाका स्थानीय नेता बुनिलालराउत कुर्मी र वडाध्यक्ष सोनालाल साहबीच सोमवार साँझ विवाद भएर हात हालाहाल भएको छ।
पोखरिया नगरपालिकाले शिवबर्वामा सडक मरम्मतको काम गर्दा प्राविधिक त्रुटि गरेको भन्दै नेकपाका स्थानीय नेता कुर्मीले टोलवासी बटुलेर काम रोक्न लगाएका थिए।
सडकको काम रोकिएपछि वडाध्यक्ष साह सो स्थानमा पुगेका थिए। काम रोक्न लगाउने कुर्मीले सडकमा गे्रडिङ्ग गर्दा पानी नपटाएको र १० टनमाथिको रोलर प्रयोग गर्नुपर्नेमा साधारण डेढ टनको रोलर प्रयोग गरेकोले सडकको आयु लामो नहुने तर्क गरेका थिए। उनले निर्माणाधीन सडकको स्टिमेट तयार नभएको र बजेट पनि पारदर्शी नभएको आरोप लगाएका थिए। वडाध्यक्षले नगरपालिकामा सोही रोलर उपलब्ध भएको र विकासको काममा अवरोध नगर्न भनेपछि दुवैबीच विवाद भएर हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताए।
सडक निर्माणको क्रममा विवाद भएपछि प्रहरी पुगेर झगडा साम्य पारेको थियो। सोमवारको घटनालाई लिएर वडाध्यक्ष साहले इलाका प्रहरी कार्यालय पोखरियामा लिखित उजुरी गरेपछि आज बिहान दुवै पक्षबीच सहमतिका लागि बैठक बोलाइएको थियो। तर इप्रकामा भएको बैठकमा सहमति नभएपछि विवाद सुल्झाउन दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको थियो। जिल्लामा दुवै पक्षलाई मङ्सिर ७ गते आइतवार पुनः छलफल गर्ने गरि डाकिएको छ। सडकको काम भने हिजो साँझ विवाद भएपछि रोकिएको छ।