प्रस, परवानीपुर, २६ कात्तिक/
शिक्षक तालिम केन्द्र, बाराको आयोजनामा तीन दिने विपद् व्यवस्थापन तालीम शुरू भएको छ। हिजो मङ्गलवारदेखि तालिम केन्द्रको सभाहलमा शुरू भएको तालीममा बाराका विभिन्न विद्यालयका २५ जना प्रधानाध्यापकको सहभागिता रहेको छ। कोभिड महामारीको कारण चौतर्फी सेवा तथा क्षेत्र ठप्प पर्दा शिक्षा क्षेत्र पनि ठप्प भएको छ। तालिम केन्द्र बाराले उच्च सतर्कता अँगाली सभाहलमा शिक्षक राखेर आठ महीनापछि तालिम कार्यक्रमको आयोजना गरेको हो। तालीममा विपद् न्यूनीकरण गरी विद्यालय सञ्चालन तथा प्रधानाध्यापकको काम–कर्तव्यबारे प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा प्रशिक्षकहरू राजन भण्डारी, शिवशङ्कर चौधरी, उमेशकुमार मिश्रलगायतले प्रशिक्षण दिएका थिए। तालीम केन्द्रका प्रशिक्षण भारिगथ झाको संयोकत्वमा आयोजना भएको तालीममा विपद् न्यूनीकरण गरी बारामा पठनपाठन सहजरूपमा अघि बढाउन मदत गर्ने विश्वास लिइएको तालीम केन्द्रका प्रमुख गोपाल कँडेलले जानकारी गराए।