जीतलाल श्रेष्ठ, निजगढ, २३ कात्तिक/
निजगढ नगरपालिकाले बोलपत्रद्वारा आह्वान गरेको नदीजन्य पदार्थको ठेक्का सदर गर्ने–नगर्ने निर्णय विनानिष्कर्ष टुङ्गिएको छ।
आइतवार दिउँसो साढे तीन घण्टासम्म बसेको निजगढ नगर कार्यपालिकाको बैठकले कुनै निर्णय गर्न नसकेपछि विनानिष्कर्ष टुङ्गिएको हो। निजगढ नगरपालिकाले यही कात्तिक १६ गते न्यूनतम रकम १३ करोड ३२ हजार ९१ रुपियाँमा ठेन्डर सकार गर्न बोलपत्र आह्वान गर्दै टेन्डर फार्म बिक्री गरेको थियो। बिक्री भएका १२ वटामध्ये ६ वटा फर्मले टेण्डर भरेका थिए।
सोही टेन्डर खोल्दा एउटा फर्मले जम्मा गरेको बैंक धरौटी रकम  (बिडबन्ड) निजगढ नगरपालिकाको खातामा तोकिएको समयमा जम्मा भई नसकेको, अर्कोले बैंक धरौटी रकमको सक्कल भौचर नराखी फोटोकपी राखेको पाइएको निजगढ नगरपालिकाले जनाएको छ। सोही विषयलाई लिएर कार्यपालिकाका सदस्यहरूबीच एकमत नहुँदा दुईवटा बैठक निष्कर्षविहीन हुन पुगेको हो।
निजगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय बोलपत्र मूल्याङ्कन समिति गठन भएको थियो। सो समितिले हिमानी सिमेन्ट ब्लक निजगढ र न्यू पाथीभरा सप्लायर्स हेटौंडाले पेश गरेको फर्म कानून बमोजिम योग्य नभएको भन्दै निजगढ कार्यपालिकामा राय पेश गरेको छ।
हिमानी सिमेन्ट ब्लक निजगढले १३ करोड ५१ लाख, न्यू पाथीभरा सप्लायर्स हेटौंडाले १३ करोड ३१ लाख ११ हजार १११, विकोई विल्डर्स काठमाडौंले १३ करोड २५ लाख २५ हजार ५५१, मेची—महाकालीले १३ करोड ५० हजार ५५०, भगवान निर्माण सेवाले १३ करोड २१ लाख ३२ हजार ९९१ र सुदिपा ट्रेडिङले १३ करोड १ लाख १०० रुपियाँको ठेक्का हालेका थिए।
आफ्नो फर्मले सबैभन्दा बढी रकममा सो ठेक्का भरेकोले आफ्नो फर्मले ठेक्का पाउनुपर्ने जिकिर हिमानी सिमेन्ट ब्लकको छ। नगरपालिकाको खातामा समयमैं रकम जम्मा गरेको हिमानी सिमेन्ट ब्लक पक्षको भनाइ छ। तर रकम १७ गते नगरपालिकाको खातामा जम्मा नभई १९ गते जम्मा भएको निजगढ नपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here