जो बाइडेन संयुक्त राज्य अमेरिकाका राष्ट्रपति निर्वाचित भएका छन्। निर्वाचन हुनु, कोही हार्नु र कोही जित्नु नियमित राजनीतिक प्रक्रिया हो। तर बाइडेनको चर्चा भने अहिले विश्वभरि चुलिएको छ। वास्तवमा बाइडेनमा केही खास विशेषता भएकोले चर्चा चुलिएकोभन्दा उनले पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विजय प्राप्त गर्नुलाई विश्वले महत्व दिएको छ। ट्रम्पले अमेरिकी समाजको सोचविपरीत अमेरिकालाई अनुदार शासन व्यवस्थाको घेराभित्र हाल्न भरमग्दुर प्रयास गरेका थिए। सभ्यताको चरमचुलीमा पुगेर संस्कृतिको खोजीमा लागेको अमेरिकाको स्थापना हुन लागेको संस्कृतिलाई ट्रम्पले लगभग ध्वस्त नै पारेका थिए। कहाँ त विश्वनेता बन्ने सपना बोकेर चौतर्फी असहजतालाई आफ्नै कठिनाई ठानेर काम गरिरहेको, खुला समाजको स्थापना गरिरहेको, विश्व संस्थाहरूको संरक्ष्Fक बनेको अमेरिकालाई ट्रम्पले बिस्तारै अन्तर्मुखी बनाउँदै सबै किसिमका खुलापनबाट हटाउँदै लगेका थिए। इरानसँग भएको सम्झौताबाट पछि हट्नु, विश्व स्वास्थ्य सङ्गठनको बहिष्कार गर्नु, पर्यावरणीय विश्व जनमतलाई लत्याउनु ,मन नपरेको मानिसलाई जतिसुकै योग्य भए पनि निष्कासित गर्नु, कतिपय देशका नागरिकको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनु, अमेरिकामा बसोवास गरिरहेका विदेशी नागरिकलाई धपाउने सुरसार गर्नुजस्ता बहुलवादी समाजको भावनाविपरीत कार्यलाई न विश्वले रुचाएको थियो, न अमेरिकीहरूले नै।

वास्तवमा ट्रम्पको कार्यकाल शुरूदेखि नै विवादित रह्यो। निर्वाचन जितेलगत्तै उनको विरोधमा नारा, जुलूस हुनु, अमेरिकाको उदार समाजको छविलाई ध्वस्त पार्दै आफूभित्र सङ्कुचित पार्नुले हुन सक्छ अमेरिकाको आर्थिक क्षमता र अमेरिकी जनताको सुविधामा केही बढोत्तरी भएको होस्, तर अमेरिकी समाजले त विश्वमा एउटा नौलो संस्कृति जन्माउने जमर्को गरिरहेको थियो। त्यसै कारणले अहिलेको अमेरिकी चुनावबारे विश्व समुदायले खास सरोकार राखेको थियो। ट्रम्पले अमेरिकी जनतामात्र होइन, विश्व समुदायकै भावनामा प्रहार गरेका थिए। त्यसैले अहिले बाइडेनको विजयले चर्चा पाएको हो। बाइडेनको विजयभन्दा ट्रम्पको पराजयको आकाङ्क्षाले मूर्त रूप लिएको हो। ट्रम्पको कार्यशैली कुनै अविकसित मुलुकको तानाशाह शासकको जस्तो लाग्न थालेको थियो। आफूलाई मन नपरेको मानिसविरुद्ध सबै तहबाट खनिने उनको हठी स्वभावले धेरैलाई चकित पारेको थियो। आफ्नो कार्यकालको शुरूमैं उनले गैरकानूनीरूपमा प्रवेश गरेका विदेशीहरूको अभिभावक र बच्चाहरूलाई छुट्याउने कार्यलाई इतिहासमा नै कालो अक्षरले लेखिने छ।

जो बाइडेनले बितेको ट्रम्पकालको सबै तिक्तता मेटेर अमेरिकालाई विश्व समुदायमा प्रतिष्ठित गर्नेछन् भन्ने सबैलाई विश्वास छ। एउटा हठी शासकको ठाउँमा उदार मानिने पार्टीबाट विजय प्राप्त गरेका र आफैंमा उदार विचारबाट प्रतिष्ठित व्यक्तिका रूपमा बाइडेनलाई विश्वकै समर्थन पनि प्राप्त हुने कुरामा दुईमत छैन। अमेरिकामा बस्ने लाखौं नेपालीहरू पनि जो ट्रम्पका अनुदार नीतिका कारण आफ्नो बसाइप्रति सशङ्कित बनेका थिए, उनमा पनि नयाँ उत्साह पलाएको हुनुपर्छ, बाइडेनको विजयले। ट्रम्पले ‘आप भला तो जग भला’ नीति अख्तियार गरेका थिए भने बाइडेनले ‘जग भला तो आप भला’ नीति अख्तियार गरून्, शुभकामना १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here