माधव तिमल्सिना/ओमप्रकाश चौधरी, २३ कात्तिक/
पर्सा जिल्लामा आइतवार एकै दिन तीन ठाउँमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट (बिओपी) स्थापना भएको छ। जिल्लाको ठोरी, जीराभवानी र छिपहरमाई गाउँपालिकामा बिओपी स्थापना गरिएको हो।
ठोरी–३ ब्रह्मनगर ढुङ्गेबजारमा सशस्त्र प्रहरी पोस्ट स्थापना भएको छ। जिल्लामा यस अघि १० वटा बिओपी रहेकोमा आज स्थापित थप तीनमध्ये यो पोस्ट पहिलो अर्थात् जिल्लाको ११ औं बिओपीको रूपमा उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी महोत्तरीका वाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कार्तिक कृष्णभक्त ब्रह्माचार्य र पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पोस्टको उद्घाटन गरेका हुन्।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने, ठोरी गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठ, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नेपाली सेनाका गणपति मदनजङ्ग राणा, नेपाल पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्कालगायतको सहभागिता थियो।
स्थापना भएको बोर्डर आउट पोस्टमा सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको कमान्डमा २५ जनाको टोली खटाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए। स्थानीय मानबहादुर श्रेष्ठ र मानकुमारी श्रेष्ठले सो क्षेत्रमा १–१ कठ्ठा जग्गा दान दिएका छन् तर हाल सो जग्गामा भवन निर्माण भइ नसकेकोले गाउँपालिकाले निर्माण गरेको सामुदायिक भवनमा केही महीनाको लागि पोस्ट स्थापना गरिएको र सशस्त्रको भवन बनेपछि आप्mनै भवनमा सर्ने जिल्ला समन्वय समितिका उपप्रमुख न्यौपानेले जानकारी गराए।
यसैगरी सशस्त्र प्रहरीको १२ औं बिओपी आजै जीराभवानी गापा–१ मा उद्घाटन भयो। नायब महानिरीक्षक ब्रह्माचार्य र प्रजिअ तामाङले जीराभवानी मन्दिर परिसरमा रहेको सार्वजनिक भवनमा पोस्ट उद्घाटन गरेका हुन्।
सो अवसरमा संविधानसभाका सदस्य जयप्रकाश थारू, जीराभवानी गाउँपालिका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी थरूनी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, वडा अध्यक्ष शेख नुमान आजम लगायतको सहभागिता थियो।
छिपहरमाई गाउँपालिका–१ मा पनि आजै सशस्त्र बिओपी स्थापना भएको छ। छिपहरमाई–२ टिहुकीमा जिल्लाको १३ औं सशस्त्र बिओपी उद्घाटन भएको हो।
वडा अध्यक्ष महेन्द्रसाह कलवारले सहजीकरण गरेको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज गुप्ता, जिल्ला समन्वय समिति पर्साका सदस्य सुवास साहलगायतको सहभागिता रहेको पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष तिवारीले जानकारी गराएका छन्।
तीनै स्थानको उद्घाटन कार्यक्रमका मुख्य अतिथि सशस्त्र प्रहरीका वाहिनी पति तथा नायब महानिरीक्षक ब्रह्माचार्य र प्रमुख जिल्ला अधिकारी तामाङले पोस्ट स्थापनाबाट सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण हुनुका साथै सीमा सुरक्षा हुने बताएका थिए। आपद्विपद्मा नागरिक सहायताका लागि प्रहरी तत्पर रहने भएकोले नागरिक र प्रहरीबीच अपराध नियन्त्रणमा साझेदारी भूमिका हुनुपर्नेमा अतिथिहरूले जोड दिएका थिए।
स्थानीय वक्ताहरूले नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध र ग्रामीण क्षेत्रमा बजार अभावका साथै नागरिकको दैनिक उपभोग्य वस्तुहरू खरीदबिक्रीलाई कानूनी नभई व्यावहारिकरूपमा हेरिदिन आग्रह गरेका थिए। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता थियो।