प्रस, मकवानपुर, २३ कात्तिक/

मकवानपुरका चर्चित पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।  लामाको आइतवार बिहान निधन भएको उनको परिवारजनले जनाएको छ।

लामा दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा लामो समयदेखि अस्पताल भर्ना भएका थिए। तत्कालीन एमालेको केन्द्रीय कमिटीमा बसेर लामो समय काम गरेका लामा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’ को रूपमा चिनिन्थे।

विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिस्ट नेता नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए। विसं २०४९ मा मकवानपुर जिविसका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। २०६२/६३ को जनान्दोलनपछि पुनस्र्थापित संसद्को सदस्यसमेत रहेका लामा २०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भएका थिए। लामा जिविस मकवानपुरका सभापति छँदा उनकै पहलमा काठमाडौंलाई तराईसँग जोड्ने छोटो मार्ग निर्माण भएको हो। हाल सो  सडकलाई मदन भण्डारी मार्गका रूपमा चिनिन्छ। पछिल्लोपटक जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामाले पनि एमाले त्यागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here