उन्मूलन गा–हो

0

संसारमा समय कालसँगै धेरै रोग तथा महामारीहरू आए त्यसलाई नियन्त्रण गरियो तर उन्मूलन भने भएको छैन। प्लेग, हैजा, दादुरा, क्षयरोग, विफर, औलो, डेंगु, कलेरा, एचआइभी एड्स, फ्लु, मर्स, इबोला, सार्सलगायतले संसारमा धेरैको ज्यान लिएको छ। समस्या देखिएपछि समाधानका लागि औषधी तथा विकल्पको खोजी हुन्छ, ढिलो–चाँडो पत्ता लाग्छ र नियन्त्रणमा पनि आउँछ, तर पूर्णरूपमा उन्मूलन गर्न भने मानव जातिले सकेको छैन। हाम्रो मुलुकमा पनि दादुरा उन्मूलन, औलो (मलेरिया) उन्मूलन अभियान चलेको थियो। उन्मूलन भएको घोषणा पनि गरियो तर आज फेरि दादुराका बिरामी र औलोको असर फेला परिरहेकै छ। अन्य रोगको अवस्था पनि उस्तै छ। मानवले कैयन वर्ष देखि प्रकृतिमा पु–याउँदै आएको क्षतिको परिणामस्वरूप समयको अन्तरालमा महामारी फैलिन्छ। मानवले प्रकृतिमा पु–याएको क्षति कहिल्यै पनि पूर्ति भएको छैन। यसर्थ उक्त क्षतिबाट जन्मिएको महामारी तथा रोग पनि पूर्णरूपमा उन्मूलन हुन गा–हो छ।

पछिल्लोपटक कोरोना भाइरस (कोभिड १९) महामारीको जन्म भएको छ। जति प्रयास गरे पनि यसको अस्तित्व रहिरहने छ। यसर्थ अब कुनै मुलुकका सरकार वा समाजले लकडाउन वा बन्दाबन्दी गरेर जित्छु भन्ने सोच्नु मूर्खता हुनेछ। यो यति व्यापक भइसक्यो कि ढिलोचाँडो एक दिन भोग्नु नै छ। धेरैजनालाई त कोरोना लागेर पनि निको भइसकेको पत्तो नै छैन। जसको प्रतिरोधात्मक क्षमता गतिलो छ, उसले साधारण रूघाखोकीकै रूपमा पचाइसक्यो। कोरोना परिक्षणका लागि अहिले ठुलै रोइलो चलेको छ। सरकार नागरिकको निश्शुल्क स्वाव परीक्षण गर्न नपरे हुन्थ्यो भन्ने दाउमा छ भने नागरिक सरकारले निश्शुल्क परीक्षण गर्नै पर्छ भन्ने अडानमा छ। महामारीको बेला नागरिकको निश्शुल्क परीक्षण र उपचार गर्नु सरकारको दायित्व हो। यो संवैधानिक व्यवस्था रहेकोले सर्वोच्च अदालतले फैसला तथा निर्देशनसमेत जारी गरिसकेको छ।

स्वाब परीक्षण मात्रै सबै कुरा होइन। कन्ट्याक्ट ट्रेसिङमा परेका वा शङ्का लागेका व्यक्तिको स्वाब परीक्षण गर्नैपर्छ भन्ने सोच पनि उपयुक्त छैन। कोरोना एक व्यक्तिबाट अर्कोमा जहिले पाए तहिले सर्दैन। सङ्क्रमितबाट अर्कोमा सर्ने र नसर्ने समयावधि हुन्छ। कुन समयावधिमा कोसँग सम्पर्क भयो भन्ने कुरा पत्तै लाग्दैन। स्वाब परीक्षण गरे पनि सङ्क्रमितलाई कहिले सङ्क्रमण भयो भन्ने मिति पत्ता नलाग्ने हुँदा उसको सुरक्षित अवधि र सङ्क्रमण अवधि खुल्न सक्दैन। यसो हुँदा सङ्क्रमितको सम्पर्कमा कहिलेदेखि आएको व्यक्तिको ट्रेसिङ गर्ने ? कोरोना भाइरस त सङ्क्रमण भएको तीन महीना पछिसम्म पनि देखिएको छ भने १५ दिनमैं कोरोनालाई जित्नेहरू पनि छन्। यसर्थ कन्ट्याक्ट भनेर स्वाब परीक्षण गर्नु चित्त बुझाउने बाटो मात्र हो। परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाहरूलाई एकै छिनपछि सङ्क्रमण हुन सक्छ, यो त झन् झुक्किने बाटो मात्रै भयो। यसर्थ जसलाई लक्षण देखिएको छ वा अन्य कुनै रोगको उपचार गराउनुपरेको छ, उसको स्वाब परीक्षण गरिनुपर्छ र त्यो निश्शुल्क हुनुपर्छ। नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढाउने र रोग लागेकालाई निश्शुल्क गुणस्तरीय सेवा दिन सरकार सदैव तत्पर रहनुपर्छ। अन्यथा सरकार भन्नुको कुनै अर्थ रहने छैन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here