चामल, दालमा ढुङ्गा भए दाँतमा ठोकिन्छ

90

वैधनाथ ठाकुर

यतिबेला नेकपाको आन्तरिक विवाद चरमचुलीमा पुगेको छ। यस्तो अवस्था यो पहिलोचोटी आएको होइन। यसभन्दा अगाडि पनि कैयौंचोटि पार्टी अब फुट्छ कि जस्तो लागेको थियो तर फुटेन। नेकपाका नेताहरूले आन्तरिकरूपमा टालटुल गर्न सफल भएकै हो। नेकपा पूर्वमाओवादीबाट आएका प्रचण्डलगायतका हाइकमान र तिनका तलतलसम्मका भूतपूर्व गुटहरूको एकता नेकपा एमालेसँग होला भन्ने कुरो धेरैले सोचेको पनि थिएन। एमालेमा आफैं स्वार्थगत गुट पहिलेदेखि नै झाँगिएकै थियो। त्यसमा झन् नेकपा माओवादी केन्द्र आइपुग्दा महागुटको खिचडी पाक्ने सम्भावना त्यतिखेरै वाम राजनीतिका जानकारहरूले गरेका थिए।

नेकपामा यतिबेला दुवै पूर्वपार्टीका नेताहरूको स्वार्थ अनुसारको समायोजन भइसकेको स्पष्ट हेर्न सकिन्छ। स्वार्थ अनुसारको मतलब एकथरी सत्तामा भएकाहरू र अर्कोथरी सत्तामा जान नभ्याएकाहरूबीचको अन्तरविरोध नै अहिले प्रमुखरूपमा बाहिर आएको छ। हुनत नेताहरूले स्वार्थको अर्थात् पदीय भागबन्डा तथा सेवासुविधा पाउने र नपाउनेबीचको आन्तरिक अन्तरविरोधलाई सैद्धान्तिक खोलभित्र लुकाउन खोजिरहेका छन् तर ‘बादशाह नाङ्गो छ’ भन्ने कथा अनुसार नेताहरूको चरित्र जनताको अगाडि उदाङ्गो भइसकेको छ।

कम्युनिस्ट कस्तो हुन्छ भन्ने कुरा नेपालको राजनीतिमा यतिबेला एकादेशको कथा जस्तो हुन गएको छ। कम्युनिस्टहरू बिग्रेपछि कस्तोसम्म हुन सक्छन् भन्ने कुरा नेपालको वाम राजनीतिमा भविष्यमा शोध गर्ने शोधकर्ताहरूले राम्रो खुराक पाउने कुरामा कुनै शङ्का छैन।

नेपाली जनताले देशको कायापलट नै गर्ला भन्ने ठानेर नेकपालाई दुई तिहाइ बहुमतको साथ सत्तामा पु–याएको थियो। जनताको आशा भरोसामा पूर्णरूपेण कुठाराघात भएको छ। जनताले पाएको सुविधा भनेको पहिलेभन्दा बढी कर तिर्नु मात्रै हो। यस अलावा केही पनि सुविधा उल्लेख्यरूपमा पाएको देखिंदैन। कुनै कमजोर सरकारजस्तो घरी कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले नै दिने भन्छ भने घरी सङ्क्रमितहरू आफैंले  क्वारेन्टाइनमा बसेको खर्च बेहोर्नुपर्ने निर्णय गर्छ। कोरोनाजस्तो महामारीको अवस्थामा नागरिकहरू सरकारी तथा निजी अस्पतालमा ठगिन बाध्य भएका छन्। रोजगार गुमाएका नागरिकले राज्यबाट कुनै सुविधा पाउन सकेका छैनन्। काठमाडौंवासीले मेलम्चीको पानी कहिले पाउने हुन्, त्यो अझै पनि निश्चित हुन सकेको छैन। नेकपाले चुनावी घोषणापत्रमा लेखेका कुराहरू मत बटुल्ने गुलियो नाराभन्दा अरू केही नभएको स्पष्ट भइसकेको छ। न त जनताले मेट्रो रेल नै देख्न पायो, न त पानीजहाज नै। जनताको घरघरमा खाना पकाउने ग्यास जोडिदिने प्रधानमन्त्रीको भाषण व्यवहारमा कतै पनि देखिएन। देशभरिका सडकको अवस्था जीर्ण छ। बाढी, पहिरोले जनताको जीउधनको क्षति बर्सेनि बढ्दै गइरहेको छ। यस्तो अवस्थामा सरकारमा भएको पार्टी नेकपा पदीय झगडामा व्यस्त रहनु मुलुककै लागि सबैभन्दा खतराको सङ्केत हो।

नागरिक दबाब तथा अन्तरपार्टी सन्तुलनको अवस्थामा ल्याइएको नयाँ नेपालको नक्शामा देखाइएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत नेपालमा फर्काउन अझै ठोस पहल गरेको देखिंदैन। भारतको स्थलसेनाध्यक्षले नेपालले चीनको उक्साहटमा नक्शा जारी गरेको अभिव्यक्ति सेलाउन नपाउँदै नेपाली राष्ट्रपतिद्वारा उनलाई नेपाली सेनाको मानार्थ सेनाधिपतिको उपाधि दिनु कुनै पनि अर्थमा उचित देखिंदैन।

नेकपाभित्र विभिन्न आपराधिक तत्वको घूसपैठ भएकोसमेत छर्लङ्ग भएको छ। हालै पर्सा जिल्लामा विन्ध्यवासिनी गाविसको शपथग्रहण कार्यक्रममा भएको पार्टीभित्रको आन्तरिक विवाद तथा सो क्रममा भएको नियोजित कुटपिटले भएको हत्या प्रकरणले नेकपाको वर्तमान अवस्था बुझ्न झन् सरल हुन गएको छ। एक पक्षले हत्याराहरूको किटानी जाहेरी दिंदा पनि प्रहरी प्रशासनले दर्तासमेत नगर्नु, हप्ता दिनसम्म वीरगंजमा नारा, जुलुस तथा धर्ना जस्ता कार्यक्रम गर्दा पनि प्रहरी टसमस नहुनुले पार्टीको आन्तरिक अवस्था बयान गरिरहेको छ।

सरकारी वकीलको कार्यालयको आदेशमा किटानी जाहेरी दर्तापश्चात् पनि जाहेरीमा नाम भएका व्यक्तिहरूलाई नसमात्नु तथा उल्टै पीडित पक्षको नाउँमा दिइएको किटानी जाहेरी दर्ता हुनुले पनि नेकपा वर्गीय पार्टी नरहेको कुरा प्रस्ट भएको छ। कम्युनिस्ट पार्टीको करीब दुई तिहाइको सरकार हँुदा पनि जनहितको कार्यमा लाग्नुभन्दा नेताहरू पार्टीभित्रको आन्तरिक भागबन्डाको खिंचातानीमा महत्वपूर्ण समय व्यतीत गरेको देख्दा ‘…लाई भन्दा देख्नेलाई लाज’को उखान चरितार्थ भएको छ।

देशभित्र तस्करी, हत्या, अपराध, भोकमरी, कोरोनाको कहर, बरोजगारी, कमिशनखोरी, भ्रष्टाचारलगायतका समस्यामा ध्यान पु–याउनुपर्नेमा पार्टीभित्र हुने गुटको पदीय भागबन्डाको कचिङ्गलमा समय व्यतीत गरेकोले कम्युनिस्ट सिद्धान्तप्रति नै जनतामा घृणा उत्पन्न हुन गएको छ। निकट भविष्यमैं फेरि सङ्घीय, प्रान्तीय तथा स्थानीय निर्वाचनमा पार्टी कुन मुद्दा लिएर जाने यसतर्फ कसैको सोच देखिंदैन। नेताहरू आफ्नो घरपरिवारभित्रका सबै सदस्य तथा नातागोतालाई सेवासुविधा र पद बाँड्न व्यस्त छ। जबकि कार्यकर्ताहरूको घरमा शैक्षिक प्रमाणपत्र बोकेका सदस्यहरू योग्य हँुदाहँुदै पनि बेरोजगारी बनेर बस्नुपर्ने अवस्था छ। विगतमा पार्टीको काममा पूर्णकालीन कार्यकर्ताको रूपमा दिनरात काम गरेका गरीब तथा मध्यम तप्काका अधिकांश कार्यकर्ताको यतिबेला बिचल्ली हुन पुगेको छ। हाइकमान नेताहरू आफ्ना छोरी, बुहारी, छोरा, सम्धिलगायतका नातेदारलाई सेवासुविधा र लाभको पदमा व्यवस्थित गर्न जस्तोसुकै सम्झौता जोसुकैसँग गर्न तयार हुने तर तल्लो तहका कार्यकर्ताहरूको समस्या नसुन्ने जस्तो रोग निकै झाँगिसकेकोछ।

भनिन्छ, भान्सामा रहेको चामल, दालमा ढुङ्गा छ भने खानेबेलामा दाँतमा ठोकिन्छ। हो अहिले नेकपामा त्यही भएको छ। पार्टीभित्र रहेको अपराध मनोवृत्तिका व्यक्तिहरू नेता भइदिंदा वा नेताहरूबाट अपराधीहरू संरक्षित हँुदा पार्टीमा मुकेश चौरसिया जस्ता कार्यकर्ताको हत्या हुन्छ नै। यो एउटा सङ्केत मात्र हो। अझै कति धेरै घटना घट्न बाँकी नै छ। अवस्था यस्तै रहने हो भने सच्चा कम्युनिस्टहरू लालटिन बालेर खोज्ने दिन नआउला भन्न सकिन्न।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्