मधेसी आयोगका अध्यक्षद्वारा ठोरी भ्रमण

0

चिरञ्जीवी सापकोटा, ठोरी, १९ कात्तिक/
    मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले त्रेतायुगका मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको जन्मभूमिको बारेमा खोज, अनुसन्धान अघि बढ्ने बताएका छन्।
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते त्रेतायुगका रामको जन्म ठोरीमा भएको भनेपछि एकाएक चर्चामा आएको ठोरीको उच्चस्तरीय सरकारी टोलीले स्थलगत निरीक्षक गर्दै आइरहेका छन्।
    ठोरी आइपुगेका मधेसी आयोगका अध्यक्ष दत्तले प्रधानमन्त्री ओलीले बेतुकको कुरा नगरेको भन्दै अब यसको खोज, अनुसन्धान कार्यमा ढिला नहुने बताए। पुरातात्विकविद्को उच्चस्तरीय सरकारी टोलीले खोज, अनुसन्धान  थालनी गर्ने जानकारी दिए।
    ठोरीमा विशाल राम मन्दिर निर्माण गर्नुपर्ने बताउँदै अध्यक्ष दत्तले ठोरी गाउँपालिका र सम्बन्धित वडाको अहम् भूमिका रहेको बताए। स्थानीयस्तरमैं राम जन्मभूमि क्षेत्र विकास समिति गठन भएकोमा खुशी लागेको बताउँदै दत्तले समितिले सक्रियतापूर्वक काम गर्नुपरे सुझाव दिए।
    ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले राम मन्दिर निर्माण कार्यका लागि ५ करोड रुपैयाँको डिपिआर तयार गरी पर्यटन मन्त्रालयमा पेश गरेको बताए। उनले गाउँपालिकाको बजेटले राम–सीता मन्दिर निर्माण गरिने, रामको अग्लो मूर्ति निर्माण गरिने तथा सीतागुफा आउनको लागि झोलुङ्गे पुलको व्यवस्थामा लागिरहेको बताए।
    राम जन्मभूमि क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश खनालले अनुगमन टोलीलाई स्वागत गर्दै अध्यक्ष दत्तलाई राम जन्मभूमि पवित्रस्थल निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्न अनुरोध गरे।
    आयोगका अध्यक्ष दत्तले ठुटेखोला पुल निरीक्षण गर्दै सीतागुफा पुगी ऐतिहासिक वस्तु निरीक्षण गरी त्यस ठाउँमा रहेका वस्तुस्थितिको जानकारी लिएका थिए।
    वडा नंं ३ का अध्यक्ष सूर्यबहादुर लामासँग सीमामा तारेकाँड लगाइएको बारेमा जानकारी गराएका थिए भने  वडा नं २ का अध्यक्ष किशोर तामाङले राम जन्मभूमिको जग बसाल्ने अभिभारा स्थानीयस्तरकै भएको बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here