प्रस, वीरगंज, १९ कात्तिक/
इलाका प्रहरी कार्यालय, सिमराले तीन हजार एम्पुल लागूऔषधसहित बसका सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
वीरगंजबाट बनेपाको लागि छुटेको ना.६ख ९०९९ नं.को बस खानतलाशी गर्दा यात्रीको सिटमाथि सामान राख्ने –याकमा लुकाइराखेको अवस्थामा नुर्फिन, फेनारगन र डाइजेपाम तीन हजार एम्पुल बरामद भएको जिप्रका, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए। उनले लागूऔषधसहित बारा, देवताल गाउँपालिका–५ घर भई वीरगंज महानगर–१५ मा डेरा गरी बस्ने सहचालक २१ वर्षीय अमितकुमार नुनिया पक्राउ परेको बताएका छन्।
नुनियालाई अदालतमा पेश गरी ५ दिनको म्याद थप गरेर कारबाई प्रक्रिया अगाडि बढाएको उनले बताए।
यसैगरी, जिप्रका, बाराले कलैया उपमहानगरपालिका–१० मटिअर्वाबाट डेढ लाख मूल्यबराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ। कुर्ता, सुरुवाल, किराना सामान र दुईवटा मोटरसाइकल बरामद भएको प्रवक्ता मिश्रले बताए।
बरामद सामानलाई वीरगंज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी गराएका छन्।