वीरगंजमा ४० करोडको कार्पेट उद्योग स्थापना

0

प्रस, परवानीपुर, १८ कात्तिक/
    कोरोना महामारीको कारण उद्योग–व्यवसाय थलिएको अवस्थामा पनि वीरगंजमा रु ४० करोडको लगानी थपिएको छ। वीरगंज–पथलैया औद्योगिक करिडोरको भलुहीमा ४० करोड रुपैयाँको लगानीमा अत्याधुनिक कार्पेट उद्योग सञ्चालनमा आएको छ।
    वीरगंजको औद्योगिक घराना प्रेस्टिज समूहले जीतपुरसिमरा–२३ भलुहीस्थित डाबर नेपालको दक्षिणतर्फमा प्रेस्टिज कार्पेट इन्डस्ट्रिज प्रालिको स्थापना गरेको छ। गत असोजदेखि उद्योगले उत्पादन थालेको उद्योगका सञ्चालक विनय शाहले जानकारी गराए। उद्योगी शाह वीरगंजका चर्चित उद्योगी एवं समाजसेवी स्व विश्वनाथ शाहका छोरा हुन्। उद्योगमा निजका भाइ वीरेन्द्र शाहको पनि साझेदारी रहेको छ। यसअघि शाह परिवारको नोबेल टेक्सटाइल्स प्रालि परवानीपुर, रारा चप्पल जीतपुर, प्रेस्टिज फूटवेयर प्रालि गण्डक बहुअरी र प्लास्टिकको डोरमेट उत्पादन गर्ने उद्योग सञ्चालित छन्।
    अमेरिका र अस्ट्रेलियाबाट अत्याधुनिक प्रविधि भिœयाएर दैनिक हजारदेखि १५ सय वर्गफिट कार्पेट उत्पादन भइरहेको उद्योगी विनय शाहको भनाइ छ। उद्योगी शाहका अनुसार भारतमा समेत यस्तो प्रविधियुक्त उद्योग नभएकोले नेपालमा धागोबाट कार्पेट उत्पादन गरी नेपाल, भारत, पाकिस्तान हँुदै युरोप र अमेरिकाको बजारमा समेत नेपाली कार्पेटलाई लैजाने व्यवस्थापन पक्षको योजना छ। दैनिक ८ घण्टा उद्योग चल्दा वर्षमा ९ लाख वर्गफिट कार्पेट उत्पादन गर्न सकिन्छ। कोरोना महामारीका कारण पाँच महीना उद्योग सञ्चालनमा ढिलाइ भएको थियो। उद्योगमा २० वटा डिजाइनमा टफटेड कार्पेट उत्पादन भइरहेको छ।
    बजार माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने उद्योगी शाहले बताए। कार्पेटबारे ग्राहकको प्रतिक्रिया सकारात्मक रहेको पनि उनले बताए। प्रेस्टिज समूहले करीब एक अर्ब रुपैयाँको लगानीमा चाँडै वीरगंजमा पिभिसी कार्पेट उद्योग पनि स्थापना गर्दैछ। नेपालमा बर्सेनि करीब १० अर्ब रुपैयाँँको कार्पेटको कारोबार हुने गरेको  छ। नेपालमा साउदी अरब, टर्की र युरोपबाट आयातित कार्पेटहरूको खपत बढी हुने गरेको पाइन्छ। उत्पादित कार्पेट ५० प्रतिशत नेपाली बजारमा र ५० प्रतिशत भारत, पाकिस्तान तथा युरोपेली देशमा निकासी गर्ने लक्ष्य उद्योगले राखेको छ। सरकारले निकासी तथा कच्चा पदार्थ आयातमा अनुदान दिए नेपाली ब्रान्डलाई विदेशमाझ चिनाउन सहज हुने उद्योगी शाहले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here