लकडाउन समाप्त भएको दुई महीना हुन लाग्यो। अब लकडाउनमा कडाभन्दा कडा व्यवहार गर्ने सरकार आफैं शिथिल भयो र रोगको प्रतिरोध मात्र होइन, उपचार गर्न पनि लाचार भयो। लकडाउन लागू राख्नुको उपादेयता न हिजो थियो, न आज छ। तर उपचारको उपादेयता त जहिले पनि रहि नै रहन्छ। त्यसमा सरकारले हातखुट्टा छोड्यो। लाचार भएर उपचार गर्न सकिन्न, रोगीले आफ्नो उपचार आफैं गर्न घोषणा नै ग–यो। यति भएर पनि सरकारले सीमानाका भने खोलेको छैन। खासगरी भारतसँग एक हजार आठ सय किलोमिटर भौतिक र कानूनीरूपमैं खुला नाका बन्द राखेको छ। कोरोनाको अत्यधिक सङ्क्रमण देखिएको भारतले आफ्नो सीमानाका खोलिसकेको छ। हुनत भारतले नेपाल–भारत नाका खोल्नु व्यापार लाभले प्रेरित भन्न सकिन्छ। तर नेपाली जनतालाई भने सास्ती भइरहेको छ। जान–आउन खासै रोक पनि छैन, तर सज्जन व्यक्ति ठूलो असमञ्जसमा परेका छन्। किनकि सरकारले घोषितरूपमा सीमा खोलेको छैन। अब त मजदूरी र व्यवसाय गर्नेहरू यताबाट उता र उताबाट यता निर्बाध आउन–जान थालेका छन्। त्यसैले होला जिल्ला नेपाली काङ्ग्रेसले सरकारलाई विज्ञप्ति नै दियो, सीमा खोल्नका लागि।

सीमा नखोल्दासम्म नेपाली मनोविज्ञान पनि बन्दाबन्दीको प्रभावबाट मुक्त हुन सकेको छैन। सीमावर्ती नेपालीका लागि स्वदेश भनौं वा विदेश भारत नै हो। शिक्षा, उपचार, सस्तो सामग्री, मेशिन–उपकरण सबैका लागि भारत नभई हुँदैन। त्यसैले सीमावर्ती नेपाली बजारहरू कहिल्यै फस्टाउन सकेनन्। कलैया, गौर, मलङ्गवा, जलेश्वर, सिराहा, राजविराजको लामो शृङ्खला छ, जुन जति पुराना बजार भएपनि सिमरा, निजगढ, चन्द्रपुर, गरुडा–शिवनगर, हरिवन, ढल्केवर, लहानको विकासको गतिलाई आहत दृष्टिले हेर्नबाहेक केही गर्न सकेनन्। सरकारको लागि यी सब कुराको कुनै अर्थ छैन। उसका लागि राजधानीको जीवनशैली उच्च भए पुग्छ। यताको लागि केही गर्न नपरोस् भनेर पनि राज्यले कहिले मुन्टो बटारेर पनि यता हेरेन। यी सब कारणले सीमावर्ती नेपालीको कार्य–व्यवहारमा कहिले पनि स्वाभाविकता आउन सकेन। सोच कहिले पनि अग्रगामी हुन सकेन। यथास्थितिमा बाँच्नु, सरल जीवन व्यतीत गर्नुसम्म ध्येय रह्यो।

सीमा नखुलेकोले नेपालमा जनजीवन सामान्य हुन सकेको छैन। यहाँ कोरोनालाई पन्छाएर नै कुरा गर्न खोजिएको छ। किनकि कोरोना न सरकारले रोकेर रोकिने अवस्था छ, न नागरिक नै पर्याप्त चनाखो हुन सकेको छ। जहाँ पनि भीड देखिन्छ, मानौं कोरोना केही हुँदै होइन। तर यी सब गतिविधि चलिरहँदा शिक्षा भने धरापमा परेको छ। केही ठाउँमा विद्यालय सञ्चालन गर्ने कुरा चले, केहीले चलाए पनि, तर एउटा शाश्वत प्रश्न निरन्तर जारी छ–विद्यार्थीहरूमा कोरोना सङ्क्रमण फैलियो भने…। यसको उत्तर कसैसँग छैन, यस कारण विद्यालयहरू खुलेका पनि छन् भने विद्यार्थीहरूको सङ्ख्या नगण्य छ। यसरी कुन उद्देश्यको पूर्ति हुने हो थाहा छैन। आफ्नो गा–हो–सा–होको मात्र सबैलाई चिन्ता छ। जीवन–व्यापारलाई कोरोनाले भयाक्रान्त पार्न छाड्यो। अब सबै कार्य–व्यापार सामान्य अवस्थाझैं चल्न थाल्यो। शिक्षा पनि जीवन–व्यापारका लागि हुने लगानी हो। यसमा असमञ्जसको गुन्जाइस रहनुहुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here