बालिकाको बलात्कार तथा हत्या प्रयास

0

प्रस, सर्लाही, १६ कात्तिक/
    सर्लाहीमा १० वर्षीया बालिकाको बलात्कार र हत्या गर्ने प्रयास गरेको अभियोगमा एकजना भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्ने सीमावर्ती भारतीय क्षेत्र सीतामढीका २७ वर्षीय मुकेश मुखिया रहेको प्रहरीले जनाएको छ।
    सर्लाहीको पर्सा गाउँपालिका वडा नं ५ कि १० वर्षीया एक बालिकालाई खेतमा घाँस काट्न गएको बेला एक्लै पारी भारतीय युवकले बलात्कारको प्रयास गरेका थिए।
    बालिकाले प्रतिकार गर्दै चिच्याएपछि युवकले बालिकाको घाँटी रेटेर हत्या प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
    घटना विवारण अनुुसार शुक्रवार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला साइकलमा चढेर आएका भारतीय युवक मुखियाले बलात्कारको प्रयास गर्दा बालिका चिच्याएपछि बालिकाको हँसिया खोसेर उनको घाँटी रेट्ने प्रयास गरेका थिए। सो क्रममा बालिकाको हातको औंला र घाँटीमा समेत गहिरो चोट लागेको छ। युवकले बालिकाको घाँटीमा हँसियाले आक्रमण गरेको र त्यहीं बेला सो बाटोमा मोटरसाइकल सवार अर्को एक यात्रु आएपछि उनले बालिकालाई बचाएको वडा नं ५ का अध्यक्ष उमेश यादवले बताए।
    बालिकाको घाँटीमा ७ वटा र औंलामा तीनवटा टाँका लागेको वडाध्यक्ष यादवले जानकारी दिए। वडाध्यक्ष यादवका अनुसार मुकेश रक्सी पिएर लट्ठ भएका थिए। उनी कसरी किन नेपाल आएका हुन् खुलासा भएको छैन।
    घटनामा संलग्न युवक मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। मुखियाविरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान शुरू गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here