बलिराम शुक्ला, बिरुवागुठी, १२ कात्तिक/
    पर्सागढी नगरपालिका र आसपासका क्षेत्रमा पशुहरूमा लम्पी छाला रोग देखा परेको छ। गाई, भैंसी, पाडापाडीमा लम्पी भन्ने छालासम्बन्धी रोग देखा परेको हो।
    पशु सेवा केन्द्र पर्सागढी नपाका पशु प्राविधिक अजय साहले पशुहरूमा लम्पी भन्ने छाला रोग देखा परेको पुष्टि गरे। उनले लामखुट्टे, झिङ्गा र किर्ना आदिको टोकाइबाट यो रोग पशुमा सर्ने गरेको बताए। लम्पी छाला रोगबाट पशुहरूमा खुट्टा सुन्निने, ज्वरो आउने, शरीरको बाहिरी छालामा सानाठूला गिर्खाहरू देखा पर्ने, शरीर सुन्निने, सिंगान बग्ने आदि समस्या देखिने पशु प्राविधिक साहले बताए। उनले यो लक्षण देखा पर्ने दुधौरे पशुहरूको दूध उत्पादनमा कमी आउने बताए। लम्पी छाला रोगबाट पर्सागढीमा पशुपालक भुमा अधिकारी, गोकर्ण पाठक, लक्ष्मी कोइराला, सूर्य चापागाईंका गरी आधा दर्जन पशुहरू मरेका छन्। पर्सागढी नगरपालिकाको स्वास्थ्य शाखाले लम्पी छाला रोग नियन्त्रणको लागि नगरपालिकाले कदम चाल्ने जनाएको छ। शाखा पशु प्राविधिकहरूको बैठक बोलाएर यो रोगविरुद्ध अभियान चलाउने पनि जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here