प्रस, रौतहट, १२ कात्तिक/
    नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्ध्यवासिनी गाउँकमिटीका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिट्टै दर्ता हुने बताएका छन्।
    बुधवार रौतहट, गुजरा नगरपालिका–४ मा आयोजित कार्यक्रममा बोल्दै उनले चौरसियाको वास्तविक हत्यारालाई कसैले जोगाउन नसक्ने जिकिर गरे। नेता साहले पार्टीको आन्तरिक विवादको कारण ज्यान जोगाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताए। उनले हत्यामा संलग्न कोही पनि नजोगिने र निर्दोषलाई फस्न नदिने दाबी गरे। उनले पार्टी प्रदेश कमिटीले पर्सामा विवादित कार्यक्रम नगर्न निर्देशन दिएको तर जबरजस्ती कार्यक्रम गरिएको भन्दै दुःख व्यक्त गरे।
    उनले प्रदेशको निर्देशन पालना नगरी कार्यक्रम गरिएकोले सचिव चौरसियाको दुःखद निधन भएको बताए। प्रहरी प्रशासनले घटना भएको लामो अवधिसम्म दोषी पत्ता लगाएर जाहेरी दर्ता नगर्नु दुःखद भएको उनले बताए। हत्याजस्तो जघन्य अपराधमा प्रहरी प्रशासनको निष्क्रियताको उनले आलोचना गरे। नेता साहले मुकेश चौरसिया हत्याकाण्डको हल केही दिनमैं हुने दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here