प्रस, पंचगावाँ, १२ कात्तिक/
प्रारम्भिक वातावरणीय परीक्षण रिपोर्टको अभावमा पर्साका खोलानालाहरूको ठेक्का स्थानीय पालिकाले लगाउन सकेका छैनन् भने तस्करीको क्रम पनि रोकिएको छैन।
असोज १ गतेदेखि नदीजन्य पदार्थको उत्खनन पालिकाहरूले ठेक्काबाट गर्नुपर्नेमा अहिलेसम्म ठेक्का नलाग्दा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ।
पर्साको पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोला, पटेर्वासुगौली र जीराभवानी गापा अन्तर्गत पर्ने भलुवाही खोला, पटेर्वासुगौली गापा अन्तर्गतको गादी खोला, जीराभवानी गापाको ओरिया खोला, पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया, सिंघाही खोलाहरूबाट एकाबिहानैदेखि बेलुकीसम्म ट्याक्टरबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन भइरहेको छ।
भलुवाही खोलाबाट अवैध उत्खनन गरी तस्करहरूले पटेर्वासुगौली गापा–१ गदियानी, गापा–४ भतौडा, फरहदवा, सुगौली, वडा नं ५ देउरिया बाँध, मोडटोल, निचुटा, जीराभवानी गापा–५ को शङ्करसरैया हरैया, सखुवनिया र जमुनिया खोलाको गिट्टी, बालुवा सखुवाप्रसौनी गापा–१ अकवनिया, सिद्धपुर, सथवल, सिद्धपुर, औराहा, सखुवनिया, पटेर्वासुगौली गापाको गादी, बङ्कुल, रामभौरी, धर्मवबस्ती, रङ्गपुर, बेलवा, देकुली भएर तस्करी जारी छ। यो क्षेत्रमा पर्ने प्रहरी चौकी रङ्गपुर, शङ्करसरैया, इप्रका पटेर्वासुगौलीले बेवास्ता गरेको कारण नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको स्थानीयले बताए। प्रहरीको मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन भइरहेको उनीहरूको आरोप छ। पर्साका सबै खोलामा अहिले अवैध उत्खनन भइरहेको र सोको रोकथाममा स्थानीय पालिका, प्रहरी, वन कर्मचारीहरू निष्क्रिय देखिएका छन्।