गयो दशैं

0

परम्परा र औपचारिकरूपले दशैं बिदा भइसकेको छैन, तर आजको पारिस्थितिक विषमताले दशैंलाई छोट्याइदिएको छ। किनकि जसको मुटुले जहाँसम्म साथ दियो, उसले छेउ नजीकका आफन्तसम्म पुगेर टीका थाप्यो। त्यसपछिको चहलपहल र टाढाटाढासम्म पुग्ने मानिसमा न साहस छ, न जाँगर नै। यस अर्थमा दर्शैं यसपालि धेरै रमाइलो नभए पनि यसले निम्न वर्गका मानिसका लागि केही न केही आर्थिक गतिविधिको जोहो गरिदियो। कोरोनाको प्रभावले यसपालि मानवीय क्रियाकलापमा कमी भएकोले अर्थतन्त्र खासै चलायमान हुँदैन भन्ने अनुमान थियो। केही हदसम्म यो सत्य पनि देखियो, तर पहाडतिर यसै बेला अरू वर्षभन्दा बढी खसी–बोका र च्याङ्ग्राको बिक्री बढेको देखियो। यसपालि पनि विभिन्न उत्पादनका उपहार कार्यक्रमहरूको विज्ञापन गत वर्षझैं देखियो। गरिखानेलाई अपठ्यारो पर्नुबाहेक आर्थिक गतिविधि राम्रै देखिएको छ। दशैं भनेको त चाडहरूको शृङ्खला शुरू हुने सङ्केत हो। १५ दिनपछि तिहार, त्यसको लगत्तै छैटौं दिन छठ। तिहार सर्वत्र, छठ विशेषरूपले तराईमा, अब त हिमाली क्ष्Fेत्रबाहेक पहाड–राजधानीसम्म यसको रमझम देखिन थालेको छ। यी पर्वहरूमा उपयोग हुने सामग्री सबै स्थानीय हुने भएकाले गरिखाने वर्गको लागि पनि राहतको सन्देश लिएर आउँछ। तिहार र छठका लागि माटाका सामग्री, तेल, धूपलगायत वस्तु स्थानीय उत्पादन नै आवश्यक हुन्छ। समग्रमा यो आर्थिक गतिविधि सानो परिमाणको देखिए पनि यसले एउटा वर्गलाई राहतको ठूलो कोसेली दिइरहेको हुन्छ।
हुनत यसपालि दशैंको लघु संस्करण नै देखियो, तर पनि यसले जनजीवनमा पार्ने प्रभाव समष्टि थियो। राष्ट्रिय समाचार समितिमा प्रसिद्ध अर्थशास्त्री डा सुरेन्द्र लाभले दशैंदेखि छठसम्म बजारमा करीब पाँच अर्ब रुपैयाँको कारोबार हुने गरेको बताएका छन्। यसले दशैंदेखि छठसम्मको अवधि आर्थिक गतिविधिका लागि बृहत् त बुझिन्छ नै, अर्थविद्हरूका अनुसार दशैंदेखि छठसम्मको अवधिमा नेपालको अर्थतन्त्रले पुनर्जीवन प्राप्त गर्छ। यसै अवधिमा देशमा अन्य महीनाहरूको तुलनामा बढी व्यापार वा वर्षको दश महीनामा हुने बराबर व्यापार यस दुई महीनामा हुन्छ। दशैंमा मात्र करीब १० अर्ब रुपैयाँबराबरको लत्ताकपडाको व्यापार हुन्छ। सरकारले पनि परम्परादेखि दशैं पर्व मनाउनका लागि निजामती कर्मचारीका लागि एक महीनाको तलब बराबर भत्ता उपलब्ध गराउँछ। निश्चित नै यसले आर्थिक गतिविधिलाई ऊर्जा प्रदान गर्छ। हातमा पैसा हुनु, त्यो पनि नयाँ लाउँ, मीठो खाउँ, उत्साह र उमङ्ग बढाउँ भन्ने पर्वविशेषको बेला, देश र समाजमा उपभोक्ता संस्कृतिलाई प्रोत्साहन गर्छ। उपभोक्ता संस्कृतिको बढोत्तरीले नयाँनयाँ कारोबार–व्यापार र उत्पादनको लागि मार्ग प्रशस्त गर्छ। उद्यपि उपभोक्ता संस्कृतिको अति उचाइ नकारात्मक हुन्छ, तर संयमित र विवेकपूर्ण उपभोक्ता संस्कृति आजको आवश्यकता पनि हो। हामी जति उपभोग गर्छौं, त्यही अनुपातमा उत्पादन आवश्यक हुन्छ, उत्पादन आवश्यक भएपछि कलकारखानाको स्थापना हुन्छ, कलकारखाना स्थापित भएपछि मानिसले रोजगार पाउँछ। मानिसले रोजगार पाएपछि देशमा लोकतन्त्रको विकास हुन्छ। सबैको हातमा पैसा पुग्छ। सबैले आफ्नो आयको अनुपातमा खुशी मनाउन पाउँछन्। अरूले देला र खाउँला, लाउँला भन्ने आसमा बाँच्नुपर्दैन। यसर्थ नेपालको राष्ट्रिय पर्व दशैंको सांस्कृतिक, सामाजिक, आर्थिक र धार्मिक सबै दृष्टिकोणले विशेष महत्व छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here