प्रस, गरुडा, ६ कात्तिक/
राष्ट्रिय जनगणनामा एउटा मातृभाषालाई अर्को मातृभाषा उल्लेख गर्ने, गराउने चलखेल हुने गरेकाले आउँदो जनगणनाको लागि मातृभाषाप्रति सचेत रहने गरी केन्द्रित हुन भाषासेवीहरूले आग्रह गरेका छन्।
बज्जिका साहित्य सङ्गम रौतहटको पाँचौं वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्रप्रसाद साह, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, बज्जिका शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्रप्रसाद यादव, सर्लाहीका साहित्यकारहरू रामचन्द्र महतो कुशवाहा, रामपवित्र साह, राजेन्द्र ठाकुर, रामाधार पासवान, सङ्गीता सहनी, रेणु गुप्तालगायतले भाषा र साहित्यको विकासका साथै जनगणनामा मातृभाषा बज्जिकाप्रति सचेत रहन आग्रह गरेका थिए। वर्तमान अवस्थामा बज्जिका भाषा र साहित्यको चेतनाको विस्तार सन्तोषजनक रहेको भन्दै थप अध्ययन र अनुसन्धानको आवश्यकता रहे पनि आउँदो जनगणनामा महोत्तरी, सर्लाही, रौतहट र बाराका बज्जिका मातृभाषीलाई अझ बढी सचेत गराउनुपर्ने आवश्यकता औंल्याइएको छ।
संस्थाका अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष किशुनदयाल यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बज्जिका भाषाका अभियन्ता साहित्यकार सञ्जय साह मित्रले कार्यक्रम सञ्चालन गर्दै बज्जिका भाषा र साहित्यको अवस्थाबारे प्रकाश पारेका थिए।
मुख्यगरी, सर्लाही र रौतहटमा बोलिने बज्जिका भाषा पूर्वी बारा तथा पश्चिमी महोत्तरीसम्म बोल्ने गरिएको दाबी बज्जिकासेवीहरूले गर्ने गरेका थिए। पछिल्ला दुई राष्ट्रिय जनगणनामा समावेश भएको बज्जिका देशको सातौं ठूलो मातृभाषाको रूपमा रहेको तथ्याङ्कले देखाएको छ।
सरकारले मातृभाषा बज्जिकालाई उपेक्षा गरेको आरोप बज्जिका भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रका बुद्धिजीवीहरूले लगाउने गरेका छन्।