आफैं झिंझिया खेलेर प्रोत्साहन गर्दै उपप्रमुख ठाकुर

0

प्रस, गरुडा, ६ कात्तिक/
दशैंको समयमा तराई–मधेसमा दिदी–बहिनीहरूले मनाउने झिंझिया लोप भइरहेको बेला रौतहटको गौर नगरपालिकाकी उपप्रमुख किरण ठाकुर आफैंले झिंझिया खेलेर प्रोत्साहन गरेकी छन्।

दशैंको घटस्थापनादेखि नवमीको रातसम्म करीब हरेक गाउँमा विभिन्न समूहमा महिलाहरूले प्वालैप्वाल भएको घैंटाभित्र बलेको दियो टाउकोमा राखी गीत गाउँदै नृत्य प्रस्तुत गर्ने गर्दछन्। तराई–मधेसका करीब सबै भाषिक समुदायमा प्रचलित झिंझिया विगत केही दशकदेखि लोप हुँदै साना बालिकाहरूमा सीमित हुँदै गएको छ।

अधिकांश गाउँ तथा बजार क्षेत्रमा झिंझिया हराइसकेको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त गरिएको छ। मौलिक लोक–सांस्कृतिक गीति लय, मौलिक नृत्य तथा सांस्कृतिक परम्परा रहेको महिलाहरूको सांस्कृतिक उत्सव लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सबैतिरबाट प्रोत्साहनको आवश्यकता रहेको रौतहटकी साहित्यकार रेणु गुप्ताको भनाइ छ।

झिंझियाजस्तो लोकसम्पदामा आधुनिक दृष्टिकोणले केही कमीकमजोरी होला तर तिनलाई हटाउँदै झिंझियालाई सन्देशमूलक बनाउन र स्थानीय सरकारले झिंझियालाई बचाउन ठोस योजना बनाएरै पहल गर्नुपर्ने अर्का साहित्यकार किशुनदयाल यादव श्रीकृष्णको भनाइ छ। झिंझिया हराउँदै जानु भनेको मौलिक सामाजिक–सांस्कृतिक लोप हुनु रहेकोले यसको संरक्षण तथा संवद्र्धन गर्न सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने साहित्यकार श्रीकृष्णको सुझाव छ।

गौर नपाकी उपप्रमुख किरण ठाकुरले झिंझिया संस्कृतिको संवद्र्धनमा जुट्न सबैलाई आह्वान गरेकी छन्। झिंझिया खेल्ने समूहमा आफू पनि सहभागी हुँदै उपप्रमुख ठाकुरले प्रोत्साहन दिएकी छन्। झिंझिया हाम्रो सांस्कृतिक सम्पदा भएकोले यसलाई बचाउन उचित ठानेर झिंझिया खेलेरै प्रोत्साहन दिएको उपप्रमुख ठाकुरको भनाइ छ।

झिंझियालाई कतिपय सांस्कृतिक संस्थाहरूले मञ्चहरूमा प्रदर्शन गरेर संवद्र्धन गर्ने प्रयास गरेका छन्। संस्थाहरूले गरेको प्रयास अपर्याप्त रहेकोले मुख्यरूपमा स्थानीय सरकारले लोकनृत्य झिंझियाको प्रवद्र्धनमा ध्यान दिनुपर्ने बुद्धिजीवीहरूको राय रहेको छ। उपप्रमुख ठाकुरले झिंझिया संरक्षणको लागि अब ठोस कदम चाल्नुपर्ने बेला आइसकेको बताएकी छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here