निजगढमा बढ्दो छ कोरोना सङ्क्रमण

0


जीतलाल श्रेष्ठ, निजगढ, ५ कात्तिक/
    निजगढमा पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ। असोज २१ गतेअघि सङ्क्रमित शून्यमा झरेको दुई साता नबित्दै पुनः सङ्क्रमण देखिएसँगै समुदायस्तरमा नै कोभिड–१९ फैलिएको निजगढ नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए।
    असोज २१ गते तीनजना, २२ गते सातजना र २७ गते ११ जनामा लक्षणसहितको कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए। निजगढमा अन्दाजी ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण आज बिहान काठमाडौंमा निधन भएको आशङ्का छ। मृतक परिवारका ४/५ जनालाई पनि सङ्क्रमण देखिएको बाहिरी हल्ला आएसँगै सम्पर्क गर्न खोज्दा मोबाइल नउठेको छिमेकीले जानकारी दिएका छन्।
    कोरोना सङ्क्रमणका कारण दुईजनाको अवस्था गम्भीर रहेको छ। हाल निजगढमा ३३ जनाको परीक्षण गर्न स्वाब सङ्कलन सामग्री लिन स्वास्थ्यकर्मी नारायणी अस्पताल, वीरगंज गए पनि सामग्री पाइने–नपाइने टुङ्गो नलागेको नगर स्वास्थ्य संयोजक लामाले बताए।
    अब हाटबजारलगायत अन्य भीडभाड हुने स्थान बन्द नगरे अवस्था झनै भयावह हुन सक्ने निजगढका स्वास्थ्यकर्मीहरूको भनाइ छ। नजीकिंदो दशैंले हाटबजारमा खसी–बोका खरीद, बिक्री गर्नेहरूको भीड बढेको छ। भौतिक दूरीको एक रत्ती पालना हुने गरेको छैन भने हाटबजारमा आउनेहरू विनामास्क आउने गरेका छन्। यहाँ खसी–बोका खरीद गर्न वीरगंज, परवानीपुर, जीतपुर, सिमरा, पथलैया, चन्द्रनिगाहपुरलगायत भित्री गाउँबस्तीबाट समेत मानिस आउने गरेका छन्।
    कोरोना सङ्क्रमण शून्य भएपछि सञ्चालनमा आएका सरकारी, निजी विद्यालयमा प्रत्यक्ष सिकाइ बन्द गरिए पनि अन्य वैकल्पिक उपाय गर्दै विद्यालयहरूले पठनपाठन अघि बढाइरहेका छन्। निजगढका पसलहरूमा समेत भौतिक दूरीको पालना हुन सकिरहेको छैन।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here