प्रस, पोखरिया, ४ कात्तिक/
पर्सा जिल्लाका कुम्हालेहरू अहिले दोधारमा परेका छन्। लकडाउन, निषेधाज्ञाका कारण दीपावली, छठमा प्रयोग हुने माटोका सामग्री बनाउन जहाँ भ्याइनभ्याइ छ, त्यहीं यसपटक बिक्री कम हुने चिन्ताले पनि उनीहरूलाई सताइरहेको छ।
निरन्तर सात महीनादेखि बन्दाबन्दी भइरहेको र सङ्क्रमण राजधानीलगायत स्थानमा बढ्दै गएपछि लकडाउन हुने हल्ला चलेकाले कुम्हालेहरूलाई माटोका सामग्री तयारी गर्न पनि द्विविधा भएको हो। कसैले धेरै बनाएका छन् भने कसैले आधा बनाएका छन्। धेरै बनाउनेहरू बिक्री नहुने भन्ने चिन्तामा छन् भने कम बनाउनेहरूले पनि जोखिम नउठाएका हुन्।
पोखरिया नगरपालिका–४ मा रहेका कृष्णकुमार पडितले गत वर्षभन्दा बढी माटोका सामग्री बनाएको बताए। दीपावली, छठमा आवश्यक माटोका सामग्री गत वर्षको तुलना दोब्बरी बनाएको उनले बताए। लकडाउनको कारण बाहिर रहेका छोराहरू आएको र उनीहरूले समेत सघाउँदा उत्पादन बढेको पडितले बताए। गत वर्ष ५० हजार दियो बनाएका उनले यसपटक १ लाख बनाउने तयारी गरिसकेका छन्।
माटोका दियोलगायतका आवश्यक सामानहरू तयारी भएपनि बिक्री हुने, नहुने विषयमा भने आशङ्का बढिरहेको उनले बताए। कुन बेला बन्दाबन्दी घोषणा हुने हो र बनाएको सामान त्यत्तिकै थन्किने हो भन्ने चिन्ताले रातभरि सताइरहने उनले बताए।
यसैगरी, पोखरिया नपा–७ का निरञ्जन पडितले भने यसपटक गत वर्षभन्दा आधा सामग्री बनाएको बताए। उनले लकडाउन र निषेधाज्ञाले लामो समय ओगटेको र मानिसहरू आर्थिक अभावमा भएका कारण माटोका सामान खरीद गर्ने, पर्व मनाउने जस्ता कार्यमा कम खर्च गर्ने सम्भावना देखेर उत्पादन कम गरेको बताए। गत वर्ष उनले ३० हजार दियो बिक्री गरेका थिए भने यसपटक १५ हजार मात्र बनाएका छन्।
माटोका सामग्री बनाउन प्रयोग हुने दाउराको मूल्य गत वर्षभन्दा यस वर्ष दोब्बरी भएको र बन्दाबन्दीले सामान बिक्री हुने सम्भावना क्षीण भएकोले जोखिम नलिएको उनले बताए। पर्सा जिल्लामा दीपावली, छठका लागि ठूलो परिमाणमा माटोका सामानहरू उत्पादन र खपत हुने गर्छ। त्यसैले पोखरियाका विभिन्न वडा, पकाहामैनपुरको सुर्जाहा, बहुदरमाई नपाको डोकैला बहुअरी, छिपहरमाई गापाको भिस्वा, विन्ध्यवासिनी गापाको भेलाहा, वीरगंज महानगरका विभिन्न वडाहरूलगायत जिल्लाभरि विभिन्न स्थानमा माटोका सामग्रीको उत्पादन हुने गरेको छ।