प्रस, वीरगंज, ४ कात्तिक/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्साबाट गत बिहीवार बेलुकी पक्राउ परेका ८ जना लेखनदास जनही रु ५ हजार जरिवाना तिरी छुटेका छन्।
मालपोत कार्यालयमा अबेर रातिसम्म कार्यालय सञ्चालन भएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साले छापामारी गर्दा १३ जना कर्मचारी र ८ जना लेखनदास पक्राउ परेका थिए। कर्मचारीहरूलाई विभागीय कारबाईको लागि सिफारिश गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताएका छन्।
कर्मचारीहरूलाई सोही दिन बेलुका कागज गराइ छाडिएको थियो भने लेखनदासहरूमाथि सार्वजनिक अपराध मुद्दा दायर गरिएको थियो। सार्वजनिक अपराध मुद्दामा सोमवार आठैजनालाई जनही रु ५ हजार जरिवाना गरी छाडिएको छ।