प्रस, वीरगंज, ३ कात्तिक/
    सहयात्री समाज नेपाल, पर्साले सोमवार सरोकारवालाहरूसँग समन्वय बैठक गरी जिल्लामा रहेका समलिङ्गी, तेस्रोलिङ्गी समुदायको अवस्थाबारेमा जानकारी गराएको छ।
    वीरगंज–१२ पानीटङ्कीस्थित कार्यालयमा आयोजित कार्यक्रममा सहयात्री समाज पर्साकी संयोजक समता बमले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिङ्गी) समुदायको मानव अधिकारसँगै एचआइभी एड्स तथा यौनरोग नियन्त्रणको क्षेत्रमा समाजले काम गरिरहेको बताइन्। उनले लकडाउन र निषेधाज्ञाको समयमा जिल्लामा रहेका समलिङ्गी, तेस्रोलिङ्गीको अवस्था दयनीय भएको र उनीहरूलाई राज्यका तीनै तहबाट कुनै पनि सेवा, सुविधा, राहत उपलब्ध नगराइएको बताइन्।
    पर्सा जिल्लामा अनुमानित ४ हजारको सङ्ख्यामा यो समुदाय रहेको र ७ महीनामा धेरैजना रोजगारविहीन भई आर्थिक समस्यासँग जुधिरहे पनि उनीहरूलाई सङ्घ, प्रदेश र स्थानीय सरकारले कुनै वास्ता नगरेको बताइन्। संयोजक बमले सरकारले लैङ्गिकमैत्री बजेट बनाउने नीति राखे पनि स्थानीय तहले सरकारको निर्देशन पालना नगरेको र बजेट लैङ्गिकमैत्री नभएको कारण समलिङ्गी, तेस्रोलिङ्गीहरूले समान अधिकार नपाएको आरोप लगाइन्।  उनले हरेक दृष्टिकोणबाट पछाडि परेको यो समुदायलाई अगाडि बढाउन स्थानीय सरकारको पहल हुनुपर्ने बताइन्।
    बैठकमा वडा नं ८ का अध्यक्ष राजकिशोर गुप्ताले तेस्रोलिङ्गी, समलिङ्गीको कारण वीरगंजमा पछिल्लो समयमा निकै समस्या तेर्सिएको बताए। सामाजिक विकृति फैलाउनुका साथै लूटपाट आदिमा पनि यो समुदायको संलग्नता बढेको आरोप लगाए।
    वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले आफू आएयता ४० वटा लूटपाटका घटना तेस्रोलिङ्गी, समलिङ्गीबाट भएको बताए। उनले तेस्रोलिङ्गीलगायत समाजमा हुने सबैखाले विकृति, विसङ्गति, अपराधविरुद्ध प्रहरी मात्रको सक्रियताले न्यूनीकरण हुन नसक्ने भन्दै यसमा समाजको सहयोग आवश्यक भएको बताए। तेस्रोलिङ्गीको हकमा उनीहरूलाई थुनेर, कुटेर समस्या समाधान नहुने भन्दै रोजगारको अवसर प्रदान गर्नुपर्ने बताए।
    नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले सामाजिक विकृति बढाउने कार्यमा तेस्रोलिङ्गी आरोपित भएपनि उनीहरू अन्य पेशाप्रति भने इमानदार भएको दाबी गरे। उनले तेस्रोलिङ्गीहरूलाई उनीहरूको योग्यता, क्षमता अनुसार रोजगार दिने प्रतिबद्धता जाहेर गरे। अन्सारीले चौकीदारमा तत्काल ५ जनालाई र नर्सिङ सेवामा संलग्न हुन चाहनेलाई पनि अवसर दिने बताए।
    समाजका जटाशङ्कर साह कानूले कार्यक्रमको सहजीकरण गरेका थिए भने समापन रेडक्रस पर्साका कार्यालय प्रमुख उदयराज शर्माले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here