प्रस, परवानीपुर, ३ कात्तिक/
भारत तथा तेस्रो मुलुकबाट रेलमार्ग तथा सडकमार्गबाट आयातित मालसामानको कोलकातास्थित बन्दरगाह र विभिन्न सिपिङ कम्पनीलाई ढुवानी खर्च र विलम्ब शुल्क भारुमा भुक्तानी गर्दा नेपाली व्यवसायीले सास्ती खेप्नुपरेको छ।
भारु भुक्तानीको लागि बैंकिङ प्रक्रिया पूरा गर्न दुई–तीन दिन समय लाग्ने गरेकाले मालसामान आयात तथा पैठारीमा ढिलाइ हुने गरेको र नेपाली व्यवसायीले बैंकको चक्कर लगाउनुपरेको बताइएको छ। वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाका अनुसार लगभग सबै सिपिङ लाइनको कार्यालय कोलकातामा भएको र उनीहरूले त्यहींको कार्यालयबाट मालसामान ढुवानी गरेपछि भुक्तानी भारुमा लिने गरेका छन्।
यसो गर्दा नेपाली व्यवसायीलाई झन्झट हुने गरेको छ। नेपाल सरकारले विदेशी निर्यातकर्ता, सिपिङ लाइन कम्पनीहरूलाई नेरु भुक्तानी गर्ने सुविधा दिएको खण्डमा चाँडोभन्दा चाँडो भुक्तानी दिन सहज हुन्थ्यो र मालसामान भन्सार बिन्दुबाट छुटाउन पनि सजिलो हुने व्यवसायीहरूले बताए छन्।
यस विषयमा नेपाल सरकारको अर्थ तथा परराष्ट्र मन्त्रालयले भारतीय सरकार र बन्दरगाह प्रशासन, सिपिङ लाइन प्रतिनिधिहरूसँग छलफल गरेर समस्या हल गर्नुपर्ने माग व्यवसायीहरूले गरेका छन्। अहिलेको परिप्रेक्ष्यमा नेरु खातामा हालेर भारु खरीद गरेर नेपाली व्यवसायीहरूले कोलकातास्थित विभिन्न सिपिङ लाइन कम्पनी तथा भारतीय निर्यातकर्ताहरूलाई भुक्तानी दिंदै आएका छन्।