बढ्दो कोरोना सङ्क्रमणले फेरि विद्यालय बन्द

0


जीतलाल श्रेष्ठ, निजगढ, २६ असोज/
    नेपाल सरकारको निर्देशनविपरीत निजगढ नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरू सोमवारदेखि बन्द भएका छन्।
    पछिल्लोपटक निजगढमा ११ जना सक्रिय कोरोना सङ्क्रमित भेटिएपछि विद्यालय बन्द गर्नुपरेको हो। आइतवार निजगढ नपामा बसेको कोरोना जोखिम विपत् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण शून्य अवस्थामा रहँदा नगरपालिकाले कार्यविधि तयार गरी सञ्चालनमा ल्याएको थियो। निजगढमा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि सञ्चालनमा ल्याइएका विद्यालय बन्द गराएको निजगढका नगरप्रमुख सुरेशकुमार खनालले बताए।
    तीन साताअघिदेखि विद्यार्थी भर्ना शुरू गरे पनि एक सातादेखि विद्यालयहरू सञ्चालनमा आएका थिए।
    निजगढ नगरपालिकाले तयार गरेको सो कार्यविधि नेपाल सरकारले दिएको निर्देशनविरुद्ध थियो। सरकारले विद्यालय निर्मलीकरण गर्न, विद्यार्थी भर्ना गरी अभिलेखीकरण मात्रै गर्न सकिने निर्देशन दिए पनि विद्यालयका प्रधानाध्यापकसित छलफल गरी कार्यविधि तयार पारी विद्यालय सञ्चालनमा ल्याएको निजगढ नगर शिक्षा अधिकृत उत्तम लामिछानेले जानकारी दिए।
    यता निजगढमा समुदायस्तरमैं कोरोना सङ्क्रमण फैलिएकोले कुनै पनि समूहगत क्रियाकलाप, भेला, भीडभाड बन्द गर्नुपर्नेलगायत यसबाट सुरक्षित हुने उपायमा ढिलो गर्न नहुने सुझाव निजगढ नगर स्वास्थ्य संयोजक रमेश लामाले दिएका छन्।
    हाटबजार, खसी बजार, अन्य पसलहरूलाई समेत कोरोना सङ्क्रमणबाट सुरक्षित राख्न स्वास्थ्य उपाय कडाइका साथ पालना गरी सञ्चालनमा ल्याउने सुझाव आएको थियो।
    नजिकिंदो दशैं, तिहारमा बाहिरी जिल्लाहरूमा बसोवास गरी गाउँ फर्कने क्रममा झनै सङ्क्रमणको जोखिम उच्च हुने भएकोले बाहिरबाट आउनेहरूको स्वास्थ्य जानकारी लिएर तथा सुरक्षित हुने उपाय खोजी गर्ने निर्णय भएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here