छोरी शिक्षा बीमितको घरमा निश्शुल्क इन्टरनेट

0


प्रस, जनकपुरधाम, २६ असोज/
    छोरी शिक्षा बीमा गरेका घरहरूमा प्रदेश नं २ सरकारको निश्शुल्क इन्टरनेट सेवा जडानको तयारी गरेको छ। ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निश्शुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको हो।
    ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सञ्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रममा २०७६ माघ महीनादेखि बीमा गराएको हो। छोरीहरूको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले पनि पुष्टि गरेकी छन्।  संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताइन्।
    संयोजक यादवले यसको सुरुआत महोत्तरीको लोहारपट्टि नगरपालिकाबाट शुरू हुने बताएकी छन्। सो पालिकामा छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले छोरीहरूको घरमा निश्शुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको उनको भनाइ थियो।     
    शुरूमा २०७५ मा योजना अन्तर्गत एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँँ १५ पैसा तिरेर रु एक लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो। २०७६ माघ २ गतेदेखि छोरीको बीमा गराउनेको घरमा मात्रै निश्शुल्क इन्टरनेट जडान गर्ने सम्झौता भएको प्रदेश सरकारले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here