प्रस, पोखरिया, २६ असोज/
पोखरिया नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ।
नगरपालिका कार्यालयमा सम्पन्न चौथो नगरसभाको नगरप्रमुख दीपनारायण रौनियारले उद्घाटन गरेका थिए। सो अवसरमा उपप्रमुख सलमा खातुनले आव २०७७/७८ को लागि
रु ५० करोड ७५ लाख ३५ हजारको बजेट प्रस्तुत गरिन्। उनले यो बजेट गत वर्षको तुलना ७ करोड कम भएको बताइन्।
अनुदान सहयोग, आन्तरिक राजस्व सङ्कलन कार्य कोरोनाको कारण प्रभावित भएकाले गत वर्षको तुलना यो वर्ष ७ करोड कम बजेट ल्याएको नगरप्रमुख रौनियारले बताए।
प्रस्तुत बजेटमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त विकासतर्फको रु ८ करोड १० लाख ५४ हजार रहेको छ। नाला, सडक, ढलान, कालोपत्र आदिमा प्रदेश र सङ्घ सरकारबाट प्राप्त अनुदान खर्च गरिने बताइएको छ।
उद्घाटन समारोहमा वडाध्यक्षहरू लक्ष्मणसाह कानू, अजयकुमार कलवार, बङ्काराउत कुर्मीले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले स्वागत र लेखापाल मनोज तिवारीले कार्यक्रमको सहजीकरण गरेका थिए।